विश्वभर २ लाख ३९ हजारभन्दा बढी व्यक्तिको ज्यान लिइसकेको कोरोनाभाइरसको महामारी अझै दुई वर्ष कायम रहने अनुसन्धानकर्ताहरुको निष्कर्ष छ ।
अमेरिकाको मिन्नेसाता विश्वविद्यालयस्थित संक्रामक रोग अध्ययन तथा नीति केन्द्र (सिआईडीआरएपी) ले सार्वजनिक गरेको मोडलिङअध्ययनअनुसार भाइरस रोकिनका लागि ७० प्रतिशतभन्दा बढी व्यक्तिमा प्रतिरोधी क्षमता विकास हुनुपर्छ ।
हर्ड इम्युनिटी समुदायमा रोग प्रतिरोधी क्षमता विकास हुने प्रक्रिया हो । यस अवधारणाअन्तर्गत रोग जति धेरै फैलन्छ, त्यति नै मानव समूदायमा प्रतिरोधी क्षमता पनि बढ्छ । तर यो बिन्दुमा पुग्न समय लाग्नेछ, रगत परीक्षणको तथ्याङ्कअनुसार समग्र जनसंख्याको थोरै प्रतिशतमा मात्रै अहिलेसम्म संक्रमण देखिएको छ र संभावित भ्याक्सिन बन्न वर्षाै नलागेपनि कम्तिमा केही महिना अझै लाग्नेछ ।
संक्रमणबाट मुक्त भएका मानिसमा रोग प्रतिरोधी क्षमता विकास हुन्छ भन्ने स्पष्ट छैन, भइहाले पनि कति समयसम्म त्यस्तो प्रतिरोधी क्षमता कायम रहन्छ भन्ने स्पष्ट छैन । रिपोर्टले अन्य धेरै सम्भावित परिदृश्य देखाएको छ, जस्तो – २०२० को अन्त्य वा जाडोयाममा ठूलो संख्यामा बिरामीको लहर आउनेछ र २०२१ मा निरन्तर सानो लहर आइ नै रहनेछ । अनुसन्धानकर्ताहरुले १८ देखि २४ महिनासम्मका लागि मानिसहरु कोभीड–१९ सँग जुध्न तयार हुनुपर्ने पनि बताएका छन् । जबकी, अहिले धेरै क्षेत्रमा हटस्पटहरु खुला गरिएका छन् ।
मानव समुदायमा निरन्तर फैलिरहेकै अवस्थामा यो भाइरस र महामारी अन्नत कमजोर हुन थाल्ने पनि विज्ञहरुले बताएका छन् । उनीहरुका अनुसार यो भाइरस सिजनल प्याट्रनमा एडजस्ट हुन थाल्नेछ र समयसँगै यसको कठोरता कम भएर जानेछ ।