अमेरिकामा दुई नेपालीमा कोरोना भाइरस संक्रमणको पुष्टि

अमेरिका – अमेरिकाको न्यूयोर्क राज्यमा बसोबास गर्ने दुई जना नेपालीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। दुवै जनालाई अहिले कुइन्सस्थित एल्मष्ट अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएको छ। दुई जनामध्ये ५० वर्षीय एक नेपालीको अवस्था गम्भीर रहेको छ।

पुष्टि भएकामध्ये ४७ वर्षीय एक नेपालीले न्यूयोर्कमा उबर नामक ट्याक्सी चलाउँदै आएका थिए। पारिवारिक स्राेतकाअनुसार उबर चलाउने उनलाई सुरुमा उच्च ज्वरो आएपछि अस्पताल पुर्‍याइएको थियो। चिकित्सकको सल्लाह बमोजिम चारदिनपछि फलोअपका लागि अस्पताल पुग्दा उनको अक्सिनको लेबल कम भएको र निमोनिया देखिएको जनाइएको छ।

उनकी श्रीमतीका अनुसार कोरोना संक्रमणपछि परिवारको स्विकृतिमा अस्पतालले नशाबाट दिइने सेन्टरलाइन औषधी चलाएको छ। उनले प्रेसरको औषधी प्रयोग गर्दै आएका थिए तर उनलाई अन्यरोगको समस्या भने नरहेको बताइएको छ।

यस्तै आइतबारनै न्यूयोर्क राज्यमै बसोबास गर्ने अर्का एक ५० वर्षीय नेपालीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ। उनलाई पनि उच्च ज्वरो आएपछि अस्पताल पुर्‍याइएको थियो। उनको अवस्था अहिले गम्भीर रहेको र श्वासप्रश्वासमा समस्या भएपछि भेन्टिलेटरमा राखेर उपचार गराइरहेको जनाइएको छ।

अस्पताल भर्ना भएका ५० वर्षीय ती नेपालीका छोराले दिएको जानकारीअनुसार उनलाई पहिले देखिनै मधुमेहको समस्या थियो। परिवारका सबै सदस्यको कोरोना चेकअप गरिएको र उनीहरुको मंगलबारसम्म रिर्पोट आउने बताइएको छ। परिवारका बाँकी सदस्य भने घरमै बसिरहेका छन्।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *