इटली – इटलीमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ सय ९७ पुगेको छ । भाइरसको संक्रमणपछि एकै दिनमा मृत्यु हुनेको संख्या बढेको हो ।
गत २४ घण्टामा मात्रै ४९ को मृत्यु भएको अन्तराष्ट्रिय सञ्चार माध्यममा उल्लेख गरिएको छ । जम्मा संक्रमण हुनेको संख्या अहिलेसम्म ४६ सयभन्दा बढी पुगेको छ । चीनपछि कोरोनाबाट मृत्यु हुनेको संख्या अधिक हुने देश इटली हो ।
विश्व स्वास्थ्य संगठनले विश्वव्यापी रूपमा कोरोना भाइरसबाट करिब १ लाख संक्रमित भएको जनाएको छ । भाइरसको कारण तीन हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । जसमध्ये धेरै मृत्यु चीनमा भएको छ ।
इटलीका अधिकारीहरुले एक विज्ञप्तिमार्फत दैनिक मृत्यु हुनेको संख्या सबैभन्दा बढी पुगेको पुष्टि गरेका छन् । राष्ट्रिय स्वास्थ्य निकायका अनुसार, मृत्यु हुनेमा ८१ वर्ष उमेरका र अन्य स्वास्थ्य समस्या भएका व्यक्ति छन् । मृत्यु हुनेमध्ये ७२ प्रतिशत पुरुष छन् ।
सरकारी तथ्यांक अनुसार कोरोनाभाइरस देखिएका ४.२५ प्रतिशतको मृत्यु भएको पुष्टि भएको छ जुन विश्वमा उच्च दर हो। यस्तै भाइरसको प्रकोप नियन्त्रण गर्न इटलीमा १० दिन विद्यालय बन्द गर्न निर्देशन दिइएको छ । इटलीभन्दा बढी कोरोनाभाइरस संक्रमितको संख्या चीन, दक्षिण कोरिया र इरानमा मात्र रहेको बताइएको छ।
विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रो एड्हानोम गेहब्रेयससले भाइरसको संक्रमण गहिरो चिन्ताको विषय भएको भन्दै यसको रोकथामलाई उच्च प्राथमिकतामा राख्न सबै देशहरूलाई अपिल गरेका छन्।