कोरोना संक्रमण : अमेरिकामा १७ को मृत्यु, तीन हजार प्रहरी आइसोलेसनमा

अमेरिका – कोरोना संक्रमणको आशंकामा चार अधिकृतसहित २,७७३ न्यूयोर्क प्रहरीलाई आइसोलेसनमा राखिएको छ। चीन, इटली, इरान, दक्षिण कोरिया, जापान लगायतका देशबाट फर्किएका प्रहरीहरुलाई आइसोलेसनमा राखिएको हो।

अमेरिकाको न्यूयोर्क राज्य प्रहरीहरुलाई अहिले स्वास्थ्य विभागले परीक्षण गरिरहेको छ। स्वास्थ्य विभागले उनीहरुलाई १४ दिन अनिवार्य आइसोलेसनमा बस्न भनेको छ। न्युयोर्क राज्यका मेयर बिल ब्लाजिओले पत्रकार सम्मेलन गरी न्युयोर्क सिटीमा कोरोनाविरुद्ध लड्न भइरहेका प्रयासबारे जानकारी दिएका छन्।

ब्लाजिओले न्युयोर्कबासीहरुलाई सामान्य सावधानी अपनाउन, हात धुन, खोक्दा वा हाँछ्यु गर्दा मुख छोपेर गर्न, बिरामी भएमा घरमै बस्न र लक्षणहरु देखिएमा चिकित्सकको सल्लाह बमोजिम गर्न आग्रह गरेका छन्।

यस्तै कोरोना भाइरस संक्रमणका कारण संभावित खतरालाई मध्यनजर गर्दै अमेरिकाको क्यालिर्फोनिया र मेरिल्याण्ड राज्यमा आपतकाल घोषणा गरिएको छ। कोरोनाको संक्रमणबाट हालसम्म अमेरिकामा १७ जनाको मृत्यु भइसकेको छ भने २२५ जनाभन्दा बढीमा संक्रमण भेटिएको पुष्टि भएको छ। अमेरिकामा हालसम्म १७ राज्यमा संक्रमण भेटिएको छ।

यसैगरी एक महिनाको अवधिमा विभिन्न देशबाट अमेरिका आउँदै गरेका ३४७ जनालाई अमेरिकाको पोर्ट अफ इन्ट्रीबाट फिर्ता पठाइएको छ। २४१ जनालाई अमेरिकी विमानस्थल र स्थलसिमाबाट फिर्ता पठाइएको छ भने १०६ जनालाई प्रि क्लियरेन्स पोर्ट अफ इन्ट्रीबाट फिर्ता पठाइएको हो।

फेब्रुवरी २ देखि मार्च ३ सम्मको अवधिमा उनीहरुलाई फिर्ता पठाइएको डिपार्टमेन्ट अफ होम ल्याण्ड सेक्यूरिटीले जानकारी दिएको छ। अमेरिकी राष्ट्रपतिले चीन र इरानका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने घोषणा गरेपछि ती देशका भिसावाहकलाई फिर्ता पठाइएको छ।

शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ८.३ बिलियन डलर आपतकालिन खर्च रकममा हस्ताक्षर गरेका छन्। कोरोना भाइरस संक्रमणका विरुद्ध लडन उक्त रकम विनियोजन गरिएको हो। ट्रम्प प्रशासनले कोरोना भाइरस नियन्त्रणका लागि उपराष्ट्रपति माइक पेन्सलाई प्रमुख नियुक्त गरेको छ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *