नेपाली काङ्ग्रेसका नेता तथा पूर्वसभासद् रामेश्वरप्रसाद ढुंगेलको निधन

भक्तपुर – दोस्रो संविधानसभा निर्वाचन २०७० मा भक्तपुर क्षेत्र नं. २ मा निर्वाचित सभासद् रामेश्वरप्रसाद ढुंगेलको मंगलबार निधन भएको छ।

नेपाली कांग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले क्यान्सर भइ उपचारको लागि शिक्षण अस्पतालमा उपचार हुँदै गर्दा ब्रेन स्ट्रोक भइ ६१ वर्षीय पूर्वसभासद् ढुंगेलको निधन भएको पुष्टि गरे।

उनको मंगलबार नै शव र्‍यालीसहित पशुपति आर्यघाटमा अन्तिम दाह संस्कार गर्ने सभापति थापाले जानकारी दिए। त्यसको लागि कांग्रेसका नेता तथा कार्यकर्ताहरु त्रिवि शिक्षण अस्पतालमा भेला भइरहेको उनको भनाइ छ।

एकवर्षअघि जीवनी संगिनी गुमाएका ढुंगेल नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिसमेत थिए। उनका तीन छोरा छन्।
२०४३ सालको गाउँ पञ्चायत निर्वाचनमा विजयी भइ २४ वर्षकै उमेरमा तत्कालीन कटुञ्जे गाउँ विकास समितिको प्रधानपञ्चमा निर्वाचित ढुंगेल देशमा प्रजातन्त्र पुनःस्थापनापछि २०४९ र २०५४ सालको स्थानीय निकायको निर्वाचनमा पुनः कटुञ्जे गाउँ विकास समितिको अध्यक्षमा निर्वाचित भएका थिए।

विद्यार्थीकालदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय उनी नेपाली कांग्रेसको भक्तपुर क्षेत्र नं. २ को सभापतिसमेत दुईपटक भएका थिए। क्षेत्रीय सभापति हुँदै २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा टिकट पाएका उनले जीतसमेत हात पारेका थिए।

सरल स्वभावका ढुंगेल भक्तपुरमा विकासप्रेमी नेताका रुपमा चिनिन्थे। उनको सम्मानमा नेपाली कांग्रेस भक्तपुरको कार्यालय तीन दिन बन्द गर्ने तथा तीनै दिन पार्टीको झण्डा आधा झुकाउने जिल्ला सभापति थापाले जानकारी दिए। उनले १३ औं दिनमा स्व. ढुंगेलको श्रद्धाञ्जलीसभा राख्ने बताए।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *