गोदावरीमा प्याराग्लाइडिङ

काठमाडौं- ललितपुरको गोदावरीस्थित चापाखर्कको डाँडामा सञ्चालित प्याराग्लाइडिङका कारण सो क्षेत्र पर्यटकको रोजाइमा पर्न थालेको छ। काठमाडौं उपत्यकावासीका लागि वनभोजस्थल गएर साथीसङ्गी र परिवारसँग रमाइलो गर्ने गोदावरीमा केही महीनादेखि नियमित प्याराग्लाइडिङ हुन थालेपछि पर्यटकको आकर्षण बढेको हो। अहिले सो क्षेत्रमा दैनिकजसो नै ग्लाइडर उड्न थालेको काठमाडौं प्याराग्लाइडिङ एण्ड ह्याण्ड ग्लाइडिङ प्रालिका सञ्चालक नीरज पन्तले बताए।

विगतमा उडान भए पनि रोकिँदै आएको यहाँ नयाँ व्यवस्थापनले जिम्मा लिएसँगै डिसेम्बर अन्तिम सातादेखि नियमित उडान सुरु भएको उनले बताए। अहिले एक हप्तासम्मका लागि ‘बुक’ हुने गरेको उनी बताउँछन्।

साहसिक खेल (प्याराग्लाइडिङ) का पारखी उपत्यकावासीलाई यसको मजा लिन अब पोखरा धाइरहनु पर्दैन। हावाको वेगमा रम्दै सुन्दर हरियाली, विभिन्न हिमशृखला र उपत्यका एकैसाथ हेर्न पाउँदा खुसी अनुभूति भएको पहिलो पटक प्याराग्लाइडिङको मजा लिएका काठमाडौं असनका सुनिल श्रेष्ठले बताए। गुगलबाट खोज्दा गोदावरीमा प्याराग्लाइडिङ हुन्छ भन्ने थाहा पाएर आएको उनको भनाइ थियो।

‘पहिले कौतूहल थियो, उड्ने बेलामा डर फिलिङ्स भो, उडेपछि मजा,’ उनले भने। पत्नी प्रीति राजभण्डारी सँगै गए पनि उनी उडिनन्।

डेढ दशकअघि पोखराको सराङकोटबाट सुरु भएको साहसिक खेल अहिले विभिन्न जिल्लामा फैलँदैछ। काठमाडौंबाट तुरुन्त जान सकिने यो नयाँ गन्तव्यका कारण सन् २०२० को नेपाल भ्रमण वर्ष सफल पार्न यसले सहयोगी भूमिका खेल्ने विश्वास गरिएको छ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *