समयमा पाठ्‍यपुस्तक पुर्‍याउने जनक शिक्षाको दाबी, सम्भव होला त ? 

काठमाडौं – जनक शिक्षा सामग्री केन्द्रले यस वर्ष समयमै पाठ्यपुस्तक पुर्‍याउने दाबी गरेको छ। केन्द्रले गत वर्षपनि समयमै पाठ्यपुस्तक पुर्‍याएको तथा अभाव हुन नदिएकोभन्दै जनकले आफ्नो मुहार फेरिसकेको दाबी गर्दै सरोकारवाला सबै निकायलाई ढुक्क हुन आग्रह गरेको छ।केन्द्रका महाप्रबन्धक महेशप्रसाद तिमिल्सिनाले पाठ्यपुस्तकको छपाई ९० प्रतिशत सकिसकेको बताउँदै भने, “आगामी शैक्षिक सत्रमा सबै विद्यालय र विद्यार्थीको हातमा बेलैमा पाठ्यपुस्तक पुर्‍याउने छौं।”

उनले आगामी सत्रको लागि कक्षा १ देखि  १२ सम्मको पाठ्यपुस्तक छाप्ने जिम्मेवारी जनक शिक्षाले पाएको बताउँदै भने, “आगामी शैक्षिक सत्रकोलागि कक्षा ५ देखि १० सम्मकोलागि मात्रै २ करोड २५ लाख थान पाठ्यपुस्तक छाप्नुपर्ने छ। जसमध्ये १ करोड ६८ लाख थान छापिसक्यौं।”

महाप्रबन्धक तिमिल्सिनाले शिक्षा मन्त्रालयले कक्षा १ देखि ४ सम्मको पाठ्यपुस्तक छपाईको जिम्मेवारी निजीलाईसमेत दिएको बताए। यद्यपी आगामी सत्रकोलागि समेत जनकले प्रावि तहको किताब छाप्दैछ। २० लाख थानको संख्यामा जनकले हालसम्म प्रावि तहका रंगिन पाठ्यपुस्तक छापिसकेको जनाएको छ।

महाप्रबन्धक तिमिल्सिनाले निजीसँग सल्लाह गरेर छापिरहेको बताउँदै भने, “कक्षा १ देखि ४ सम्मको किताब अझै केही संख्यामा छाप्दै छौं।” उनले गत वर्ष समयमै पाठ्यपुस्तक पुर्‍याएर हामीले कतैबाट गुनासो आउन नदिएको बताउँदै भने, “यसपटक पनि आउँदो सत्रमा कतैपनि पाठ्यपुस्तको अभाव हुन दिने छैनौं।”

यस विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको एक वर्ष देशवासीको नाममा सम्बोधनमा सबै विद्यार्थीले समयमै पाठ्यपुस्तक प्राप्त गरेको बताएका थिए। उनले यस वर्ष पनि समयमै पाठ्यपुस्तक पुग्‍ने बताउँदै लगातार दुई वर्ष समयमै पाठ्यपुस्तक पुग्‍ने दाबी गरे।

केन्द्रका बजार व्यवस्थापन शाखा प्रमुख शम्भु पोखरेलले माघ मसान्तसम्ममा १ करोड ६८ लाख थान पाठ्यपुस्तक छपाई भइसकेको बताए। उनले ती छापिएका पाठ्पुस्तकहरु बजारमा गइसकेको बताउँदै भने, “वाइन्डिङलगायतका काम भइरहेको किताबको संख्या १० लाख छ। त्यो पनि चाँडै तयार भएर आउँछ।”
अहिले जनक शिक्षाको अवस्था राम्रै रहेको बताउँदै उनले भने, “तीन-चार वर्ष अघिसम्म अवस्था अलिकति खस्केकै हो तर गत वर्ष र यस वर्ष सयममै किताब पुर्‍याउने सम्पूर्ण तयारी अवस्थामा छौं।” गत वर्षपनि सत्र सुरु हुनुभन्दा १५ दिनअघि नै सबै ठाउँमा हामीले पाठ्यपुस्तक पुर्‍याएका थियौं भने यस वर्षपनि त्यसैगरी जाने तयारीमा छौं।

About राजेश दुलाल

View all posts by राजेश दुलाल →

Leave a Reply

Your email address will not be published. Required fields are marked *