आज राष्ट्रिय शोक मनाउने सरकारको निर्णय, सरकारी कार्यालयहरु बन्द हुने

काठमाडौं – पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित सातजनाको मृत्यु हुने गरी भएको हेलिकोप्टर दुर्घटनापछि सरकारले आज राष्ट्रिय शोक मनाउने निर्णय गर्दै सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषदको बुधबार बसेको आकस्मिक बैठकले यस्तो निर्णय गरेको गृहमन्त्री रामबहादुर थापाले जानकारी दिए ।

“यस दुखद घडीमा नेपाल सरकारले मिति २०७५ फागुन १६ गते बिहीबार राष्ट्रिय शोकको दिन घोषणा गरेको छ । सो दिन स्वदेशस्थित सम्पूर्ण सरकारी एवम् सार्वजनिक कार्यालयहरु, शैक्षिक संस्थाहरु र विदेशस्थित नेपाली दूतावास तथा नियोगहरुलाई सार्वजनिक बिदा दिनुका साथै सबै सरकारी कार्यालयहरुमा सो दिन राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ,” मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ ।

मन्त्री अधिकारीको अन्तिम संस्कार राजकीय सम्मानका साथ गर्ने व्यवस्था मिलाउने र यसका लागि सरकारको तर्फबाट आवश्यक सम्पूर्ण सहयोग उपलब्ध गराउने निर्णय पनि गरेको छ । त्यसैगरी हेलिकोप्टर दुर्घटनाको सम्बन्धमा विस्तृत जाँचबुझ गरि सुझावसहितको प्रतिवेदन यथाशिघ्र पेश गर्न गैर सैनिक हवाई उडान (दुर्घटना जाँच) नियमावली, २०७१ को नियम १० बमोजिम चार सदस्यीय दुर्घटना जाँच आयोग गठन गरिएको छ ।

आयोगको अध्यक्षमा पूर्वसचिव यज्ञप्रसाद गौतम रहेका छन् भने सदस्यमा सहायक रथी दीपकप्रसाद बास्तोला, अवकाशप्राप्त क्याप्टेन प्रमोद लामा र बुद्धिसागर लामिछाने रहेका छन् । लामिछाने पर्यटन मन्त्रालयका सहसचिव हुन् ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *