भरतपुरको मुहार फेरिदै छ : मेयर दाहाल

चितवन – भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले ध्यान सिंगो महानगरको नमुना ढंगको बिकासमा लागी परेको बताउनुभयो । महानगर प्रमुख दाहालका अनुसार स्मार्ट सिटी मास्टर प्लानका लागि प्रश्नावली तयार भै घरपरिवार तहको तथ्यांक संकलनको तयारी अन्तिम चरणमा पुगेको छ । सहभागितामूलक विकास मोडल अवलम्वन गरी ५० देखि शत प्रतिशतसम्म लागत सहभागिता जुटाइएको छ । ४ स्थानमा निजी सवारी साधन पार्किङ लट सञ्चालनमा ल्याइएको, वडा नम्बर ३ स्थित न्यूरोडमा ट्रक पार्किङ्गको व्यवस्था गरिएको, सडक पेटीमा व्यवसाय गर्नेलाई बालकुमारी कन्या माविको जग्गा भाडामा लिई व्यवस्थापन गरिएको, तीनपांग्रे सवारी साधनलाई मुख्य राजमार्गमा नियमन गरिएको र अन्य साना सवारी साधनको रुट निर्धारणको प्रक्रिया शुरु गरिएको छ ।

यसैगरी, सडक बत्ती जडान, वृक्षारोपण, एक घर एक बिरुवा अभियान, वडा नम्बर चारलाई वातावरणमैत्री वडा घोषणा, वडा नम्बर दुईलाई बालश्रममुक्त वडा घोषणा, सिंगो महानगरलाई पूर्ण खोपयुक्त महानगर घोषणा, महानगरभित्र रहेका सार्वजनिक र पर्ती जग्गाहरु खोजबिन गरी संरक्षण, स्वदेशी र विदेशी शहरहरुसँग भगिनी सम्बन्ध स्थापना गरिएको महानगर प्रमुख दाहालले बताउनु भयो ।

महानगर प्रमुख दाहालका अनुसार, सडक ग्राभेल, पीच, नाली, सडकपेटी, पार्क तथा पोखरी निर्माण तथा संरक्षण, ९५ किमी रिङ्गरोड र केही लिंकरोडमध्ये १० किमी रिङ्गरोड र ६५ किमी लिङ्करोड निर्माण शुरु भएको छ भने अन्य स्थानमा ईआइए र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार हुँदैछ । गत आवमा महानगर, जनसहभागिता र अन्य सरकारी निकायहरुको सहकार्यमा करिब ९६ किमी नयाँ बाटो कालोपत्रे भएका छन् । करिब ६० किमी सडक मर्मत भएका छन् ।

महानगरपालिकाका वडा कार्यालयहरु व्यवस्थित गर्न २ वटा वडा कार्यालयको निर्माण सम्पन्न भैसकेको छ भने अन्य ५ वटा वडा कार्यालयहरु निर्माणको प्रकियामा छन् । सहरी विकास मन्त्रालयको बजेटबाट देवाघाटमा अत्याधुनिक शवदाह गृह निर्माण, बस टर्मिनल मर्मतका साथै रिङरोड र लिंकरोडको काम प्रारम्भ भएको छ ।

‘नारायणगढको लायन्सचोकस्थित तरकारी बजारमा रहेको करिब १० कठ्ठा जग्गामा नगर विकास कोषको सहुलियत ऋणमा बहुतले व्यावसायिक भवन निर्माणको काम यसै बर्षबाट काम शुरु गर्ने लक्ष्य लिइएको छ’ महानगर प्रमुख दाहालले भन्नुभयो, ‘पुल्चोकदेखि गोन्द्राङ्गसम्म हरियाली सहितको ६ लेनको बाटो फुटपाथ र सर्भिस ट्रयाक यसै आवमा सुरु गर्ने गरी प्रक्रिया अगाडि बढेको छ ।’
फोहरमैला व्यवस्थापनलाई प्रभावकारी बनाउँदै आँपटारीमा रहेको महानगरपालिकाको जमिनमा फोहरबाट उर्जा उत्पादन गर्ने कार्यक्रमका लागि कोरियाली सरकारसँग विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) सम्बन्धी सम्झौता भई काम भैरहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार, भरतपुर वडा नम्बर १९ स्थित रानीपोखरी पार्क निर्माण सहितको पहुँचमार्ग, देवघाटमा विद्युतीय शवदाह गृह, भरतपुर केन्द्रीय बस टर्मिनल र पोखरा बसपार्कको स्तरोन्नति टेण्डर प्रक्रिया सम्पन्न भई काम अगाडि बढेको छ ।

भरतपुर महानगरपालिका वडा नम्बर १६ रामपुरमा धुर्मुस सुन्तली फाउण्डेशनले गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माण गर्ने भएको छ । रंगशाला निर्माणको लागि भरतपुर महानगरले कृषि तथा वन विज्ञान विश्वविद्यालय परिसरमा १६ बिघा जग्गा उपलब्ध गराएपछि डीपीआर निर्माण कार्य सुरु भइसकेको छ । सुविधासम्पन्न अटोल्याण्ड निर्माणको लागि तीन नम्बर वडा अन्तर्गत नारायणी नदी किनारमा प्रकृया अगाडि बढाइएको र औद्योगिक प्रदर्शनीस्थल र भरतपुर महानगरीय फलफूल तथा तरकारी बजार निर्माणमा महानगरको समन्वयात्मक पहल भइरहेको महानगरपालिकाले जनाएको छ

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *