राप्रपाद्वारा २२ बुँदे मागसहित सरकारविरुद्ध आन्दोलनको घोषणा

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारविरुद्ध आन्दोलनको घोषणा गरेको छ। राप्रपा अध्यक्ष कमल थापाले आज पत्रकार सम्मेलन आयोजना गरेर आन्दोलनको घोषणा गरेका हुन् । उनका अनुसार पर्सी फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा प्रधानमन्त्रीलाई २२ बुँदे मागपत्र बुझाएर आन्दोलनको सुरुवात हुनेछ ।

थापाका अनुसार राप्रपाले काठमाडौं उपत्यकाबाहेकका ७४ जिल्लामा प्रदेश सरकारका मुख्यमन्त्री तथा प्रमुख जिल्ला अधिकारीलाई मागपत्र बुझाइने छ ।

राप्रपाले आफ्ना माग सम्बोधनका लागि फागुन मसान्तसम्म प्रतीक्षा गर्ने पनि बताएको छ । फागुन मसान्तसम्ममा पनि माग सम्बोधन नभए देशव्यापी जनसंघर्षका कार्यक्रम सञ्चालन गरिने अध्यक्ष थापाले बताए ।
राप्रपाले बुझाउने भनिएको मागपत्रमा संविधानबाट धर्म निरपेक्षता खारेज गरेर हिन्दू राष्ट्र कायम गरिनुपर्ने, राजसंस्थासहित सबै राजनीतिक दल अटाउने सर्वपक्षीय गोलमेच सम्मेलन गरिनुपर्ने, संघीयताका बारेमा जनमत संग्रह गरिनुपर्ने, धर्म परिवर्तनमा संलग्न सम्पूर्ण एनजिओ बन्द हुनुपर्ने, बेरोजगार समस्या समाधानका लागि अल्पकालिन र दिर्घकालिन कार्यक्रम सञ्चालन हुनुपर्ने, बूढीगण्डकी परियोजनाको ठेक्का खारेज गरेर नेपालले नै निर्माण गर्नुपर्ने, एनसेल, ३३ किलो सुनकाण्ड, वाइडबडी विमान खरिदलगायत भ्रष्टाचारका घटनाको छानबिन हुनुपर्ने लगायत विषय छन् ।

राप्रपाले चैत पहिलो साताबाट सुरु गर्ने भनेको आन्दोलनलाई सफल पार्न र जनमत सृजना गर्न फागुन १५ गतेबाट मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा सुरु गर्न लागेको अध्यक्ष थापाले जानकारी दिएका छन् ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *