महोत्तरीमा संचालित अवैध क्रसर उद्योग बन्द गरिँदै

जनकपुर– महोत्तरीमा सञ्चालित अवैध क्रसर उद्योग बन्द गराउन थालिएको छ। जिल्ला समन्वय समितिको टोलीले शुक्रबार ५ वटा क्रसर व्यवसायीलाई उद्योग बन्द गर्न पत्र थमाएको छ ।

जिल्लाको भङ्गहा नगरपालिका– ४ बिर्तामा सञ्चालित महोत्तरी गोल्ड प्रालि र पञ्चधुरा वासिङ सेन्टरलगायतका सञ्चालक व्यवसायीलाई उद्योग बन्द गर्न पत्र दिइएको छ।

८ वटा क्रसर उद्योगमा अनुगमन गर्दा ५ वटा क्रसर उद्योग अवैध पाइएकोले बन्द गर्न पत्र दिएको टोलीको नेतृत्व गरिरहेका जिल्ला समन्वय समिति अधिकृत सुदिपकुमार झाले बताए।

उनले रमण कन्स्ट्रक्सनका उद्योगी र अन्य दुईलाई तीन दिनभित्र उद्योग सञ्चालनको अनुमतिपत्र र अन्य कागजातसहित उपस्थित हुन निर्देशन दिएको जानकारी दिए। झाले तत्काल कागजात देखाउन नसकेकाले उद्योग बन्द गर्न र भए आवश्यक कागजातसहित उपस्थित हुन निर्देशन दिइएको बताए।

टोलीमा जिल्ला प्रशासन कार्यालयका नासु भरतप्रसाद यादव र नापी कार्यालयका कर्मचारी राजु सुवेदी सहभागी थिए। ‘अवैध क्रसर उद्योग पूर्णरुपले बन्द गर्छौं। यो अभियान निरन्तर चल्छ। कुनै पनि अवैध उत्खनन हुन दिँदैनौं’, उनले भने।

यसका लागि आम जनता र प्रशासनको सहयोग आवश्यक रहेको उनले बताए। क्रसर उद्योगका कारण अवैध नदी उत्खनन बढेको निष्कर्ष निकाल्दै जिल्ला समन्वय समितिले सबै अवैध क्रसर उद्योग बन्द गराउने निर्णय गरेको थियो।

स्थलगत अनुगमन गर्दा जिल्लामा नदीजन्य पदार्थको दोहन तथा अवैध उत्खनन भइरहेको भेटिएपछि यस्तो निर्णय भएको हो।

अनुगमन समितिको बैठकले क्रसर उद्योग र स्थानीय तहलाई २०७५/७६ मा नदीजन्य पदार्थको ठेक्का तथा राजस्व असुली प्रक्रिया र क्रसर उद्योगलाई दर्ता, नवीकरणलगायतका सम्पूर्ण विवरण ७ दिनभित्र उपलब्ध गराउन परिपत्र गरेको थियो।

तर कुनै पनि स्थानीय तह र उद्योगीले पत्रको जवाफ नदिएकाले उद्योगहरु बन्द गराउने निर्णयअनुसार बन्द गराएको अधिकृत झाले जानकारी दिए।

जिल्ला समन्वय समितिको तथ्यांकले जिल्लामा जम्मा ६ क्रसर उद्योग सञ्चालनमा रहेको देखाउँछ । तर जिल्लामा ५० भन्दा बढी क्रसर उद्योग सञ्चालनमा छन् ।

About राजेश दुलाल

View all posts by राजेश दुलाल →

Leave a Reply

Your email address will not be published. Required fields are marked *