आरबिबी: पुलिस र नयाँबजार विजयी, एपिएफ पराजित

काठमाडौं – पोखरामा जारी आरबीबी–एनभिए पुरुष क्लब लिग भलिबल च्याम्पयनसिपमा विभागीय क्लब नेपाल पुलिसले एपिएफलाई पराजित गर्दा नयाँबजार युवा क्लब र मणिमुकुन्द भलिबल क्लब विजय भएका छन् । पोखरा रंगशालामा पाँचौ दिन पुलिसले एपिएफमाथि पहिलो र दोस्रो सेट २५–१७,२५–२१ ले जितेपनि तेस्रो सेट २४–२६ ले गुमाएको थियो । निर्णायक चौथो सेटमा पुनरागमन गर्दै पुलिसले २५–१७ को जित निकालेको हो ।

बिहिबार भएको अर्को खेलमा मणिमुकुन्द भलिबल क्लबले जावलाखेल भलिबल प्रशिक्षण क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको छ । पहिलो सेट २५–१४ ले जितेको मणिमुकुन्दले दोस्रो सेटमा २५–१२ र तेस्रो सेट २५–२० ले आफनो पक्षमा पार्यो । लिगको दोस्रो दिन स्थगित खेल बिहिबार खेलेको ढोरपाटन स्पोर्टस क्लबले जावलाखेलमाथि २५–१७,१८–२५,२५–१५ ,२५–१८ले जित निकालेको पनि अर्को खेलमा नयाँबजार युवा क्लबसंग २५–२२,२५–१८ ,२५–१८ ले पराजित भयो । आजका अन्य दुइ खेल हेल्प नेपाल स्पोर्टस् क्लबले नखेल्ने बताएपछि जावलाखेल र त्रिभुवन आर्मीले ३–३ अंक पाएका छन् ।

लिगमा ६ खेल सकिँदा त्रिभुवन आर्मी १५ अंकसहित शिर्षस्थानमा उक्लीएको छ । एपिएफ १४ अंकसहित दोस्रो तथा पुलिस १३ अंकसहित तेस्रो स्थानमा छ । मणिमुकुन्दको ११ तथा नयाँबजारको ९ अंक छ । नियम बिपरित हेल्प नेपालले ४ बिदेशी खेलाडी भित्राएपछि बिबाद भएको थियो । बिबादकैबीच हेल्प नेपालले प्रतियोगिता छोडेको छ ।

राष्ट्रिय बाणिष्य बैंकले मुख्य प्रायोजन गरेको प्रतियोगिताको विजेताले २ लाख रुपैयाँ नगद पुरस्कार जित्नेछन् । दोस्रो हुनेले १ लाख, तेस्रो हुनेले ५० हजार र चौथो हुनेले २५ हजार रुपैयाँ नगद पुरस्कार जित्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार तथा विधागत रुपमा (लिबेरो, सर्भर, लिफ्टर, स्पाइकर, ब्लकर र प्रशिक्षक) उत्कृष्ट हुनेले जनही ५ हजार रुपैयाँ नगद पुरस्कार जित्नेछन् । प्रतियोगितामा शुक्रबार ३ खेल हुनेछन् ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *