अध्यक्षद्वयको प्रतिवेदन राजनीतिक प्रतिवेदन नै भएन : घनश्याम भुसाल

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जारी स्थायी समिति बैठकमा आज १० नेताहरुले आफ्नो धारणा राखेका छन्। बैठक मंगलबार ८ बजेसम्मका लागि स्थगित भएको छ।

आजको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि छलफल प्रारम्भ भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

बोल्ने सदस्यहरुले पार्टी एकीकरणपछि सात महिनासम्म पनि पार्टीका संगठनहरुको एकीकरण नहुनुलाई गम्भीर कमजोरीको रुपमा उठाएका थिए। उनीहरुले एकीकरण प्रक्रियालाई छिटो सक्नुपर्नेमा जोड दिए। एकता प्रक्रिया ढिलो हुँदा सातआठ लाख नेता कार्यकर्ता काम र जिम्मेवारी विहीन भएको तर्क गरे।

उनीहरुले तल्ला कमिटीहरुको निर्माण गर्दा मापदण्ड बनाएर गर्नुपर्ने बताए। उनीहरुले प्रदेश कमिटीमा आएका त्यस्ता नियुक्तिलाई सच्याउन माग गरेका थिए।

सदस्यहरुले सचिवालयको कार्यशैलीप्रति पनि असन्तुष्टि जनाएका थिए। ‘प्रणाली स्थापित गर्न सचिवालयले दैनिक काम गर्ने हो’, बैठकमा उठेका धारणाबारे नेता योगेश भट्टराईले भने, ‘राजनीतिक सांगठनिक निर्णय गर्न अधिकार स्थायी कमिटी, केन्द्रीय कमिटीमा नै लानु उपयुक्त हुन्छ। सचिवालयले गरेका निर्णयहरु स्थायी समितिमा अनुमोदनका लागि ल्याउनुपर्छ भन्ने कुरा उठेको छ।’

सदस्यहरुले सरकार सञ्चालनमा सामूहिकताको अभाव देखिएको, पार्टीसँग छलफल नभएको, सरकार र पार्टी आफ्नोआफ्नो बाटोमा हिँडिरहेको बताएका थिए।

बैठकमा बोल्ने नेताहरुले एसिया प्यासिफिक समिटको विषयमा पनि धारणा राखेका थिए। ‘त्यो तहको संलग्नता हाम्रो तर्फबाट नहुनुपर्थ्यो भन्ने धारणा राखेका थिए’, भट्टराईले भने।

बैठकमा बोलेका घनश्याम भुसालले सरकार र पार्टीको सञ्चालन पद्धतिमा देखिएका समस्या बारे ३० बुँदे मौखिक धारणा राखेका थिए। उनले अध्यक्षद्वारा पेस भएको विधानले हाम्रा कुनै पनि विषय सम्बोधन हुँदैन भनेका थिए। ‘अध्यक्ष दुईको प्रतिवेदन राजनीतिक प्रतिवेदन नै हुन सकेन’, भुसालले बैठकमा भनेका थिए।

‘आज बोल्ने सदस्यहरुले अध्यक्षद्वयको प्रतिवेदनमाथि आफ्नो विचार प्रस्तुत गर्नुभएको छ। मुख्यगरी राजनीतिक प्रतिवेदनमा केन्द्रित भएर आफूलाई लागेका वैचारिक, राजनीतिक, सांगठनिक, राष्ट्रिय राजनीतिक परिस्थिति र विविध घटनाक्रमका बारेमा सबैले आफ्नो दृष्टिकोण र विचार प्रस्तुत गर्नुभएको छ। उहाँहरुले विचार व्यक्त गर्दा पार्टी एकतालाई सुदृण गर्ने, एकतालाई सफल पार्ने र सरकारलाई पनि कसरी सफल पार्न सकिन्छ भन्ने कोणबाट आआफ्नो ढंगले विचारहरु व्यक्त गर्नुभएको छ’, श्रेष्ठले भने।

आजको बैठकमा वामदेव गौतम, अग्नी सापकोटा, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, मुकुन्द न्यौपाने, हरिबोल गजुरेल, गणेश साह, वेदुराम भुसाल तथा शक्ति बस्नेतले आफ्नो धारणा राखेका थिए। बैठकमा गजुरेलले आफ्नो लिखित प्रतिवदेन पेस गरेका थिए।

छलफल सकिएपछि राजनीतिक प्रतिवेदनलाई अन्तिम रुप दिइने श्रेष्ठले बताए।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *