चिकित्सा शिक्षा विधेक सम्झौताअनुसार नै अघि बढाउँछौ: जयपुरी घर्ती

काठमाडौं- संसदको शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले सम्‍झौता अनुसार चिकित्सा शिक्षा विधेयकमा व्यवस्था गर्नका लागि केही समय दिन डा गोविन्द केसीलाई आग्रह गरेकी छन्। 

डा केसीले सरकारले विगतमा आफूसँग गरेको सम्झौता अनुसारको माग पुरा गर्न सोमबारसम्मको समय दिएका थिए। डा केसीले माग पूरा नभए पुनः अनसन बस्ने चेतावनी दिएका थिए।

डा केसीले दिएको समयसीमा सकिन एक दिन मात्र बाँकी रहँदा आइतबार समिति सभापति घर्तीले डा केसीका सहयोगी अभिषेक सिंहलाई फोन गर्दै केही समय दिन माग गरेकी हुन्।

डा सिंहका अनुसार सभापति घर्तीले डा केसीसँग गरिएको सम्झौता अनुरुप नै उपसमितिले प्रतिवेदन तयार पार्ने र सोही प्रतिवेदन अनुसार काम अगाडि बढाउने तयारी भइरहेकाले डा केसीलाई केही समय पर्खन आग्रह गरेकी थिइन्।

‘उपसमितिमा सरोकारवालासँगको छलफल सकिएको छ। केही सांसदहरूको व्यवस्तताको कारण प्रतिवेदन बनाउन ढिलाइ भएको हो,’ सभापति घर्तीको कुरा उदृत गर्दै डा सिंहले भने, ‘डा केसीसँगको सम्झौताअनुसार नै प्रतिवेदन तयार हुन्छ। संसदको हिउँदे अधिवेश पनि केही सातापछि मात्र बस्ने भएकाले डाक्टरसाबलाई केही समय पर्खन भनिदिनुहोला।’

डा सिंहले यो विषयमा सोमबार डा केसीले छलफलका लागि बोलाएको जानकारी दिए।

‘सभापतिको आग्रह डा केसीलाई जानकारी गराइसकेको छु,’ उनले भने, ‘उहाँले यो विषयमा सोमबार छलफल गरेर निर्णय गर्छु भन्नुभएको छ।’

डा केसीले गत मंसिर १० गते पत्रकार सम्मेलन गर्दै सरकारलाई पुस २ गतेसम्मको समयसीमा दिएका थिए। डा केसीले ३ बुँदे माग राखेका छन्।

यस्तो छ डा केसीले राखेका मागहरुः
१. १५औं सत्याग्रहका क्रममा २०७५ साउन १० गते नेपाल सरकारसँग भएको सम्झौता तत्काल कार्यान्वयन गरियोस्।

क) सम्झौताबमोजिम अक्षरसः संशोधन गरेर संसदबाट अविलम्ब चिकित्सा शिक्षा ऐन पारित गरियोस्।

ख) गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनले दोषी ठहर गरेका त्रि.वि. पदाधिकारीलगायतका व्यक्तिहरूलाई तत्काल सिफारिस बमोजिम बर्खास्ती लगायतका कारबाही गरियोस्।  त्रिवि पदाधिकारीहरूद्वारा चिकित्सा शिक्षा अध्ययन संस्थानका खोसिएका अधिकारहरु पुनः सो संस्थामै फिर्ता गरियोस्।

ग) सातै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने काम द्रुत गतिमा अघि बढाइयोस्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अविलम्ब एमबिबिएस भर्ना सुरु गर्ने व्यवस्था गरियोस्।

२. निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी मुद्दा चलाइयोस्। साथै, प्रमाण नष्ट गर्ने, झुटा प्रमाण बनाउने, यातना दिने, न्याय माग्न गएका व्यक्तिमाथि गोली चलाई हत्या, अंगभंग गर्ने व्यक्तिहरूमाथि तत्काल फौजदारी मुद्दा चलाइयोस्।

३. नेपाल सरकारको निर्णयको उल्लंघन गरी काठमाडौं विश्वविद्यालयले तोकेको शुल्क तत्काल फिर्ता लिई दोषी पदाधिकारीमाथि कारबाही गरियोस्।

About राजेश दुलाल

View all posts by राजेश दुलाल →

Leave a Reply

Your email address will not be published. Required fields are marked *