काङ्ग्रेस महासमिति बैठक उद्घाटनमा नै आरोप/प्रत्यारोप

काठमाडाैं – निर्वाचनमा पराजयपछि गुटगत आरोप–प्रत्यारोपमा उत्रिएका कांग्रेस नेताहरूले शनिबारदेखि सुरु महासमिति बैठकको उद्घाटन समारोहमा पनि गुटबन्दीकै विषय जोडतोडले उठाए । पार्टी एकजुट भएर अघि बढ्ने अपेक्षासहित देशभरबाट भेला भएका महासमिति सदस्यहरूमाझ शीर्ष नेताहरूले फरक गुटतर्फ इंगित गर्दै पार्टीमा अन्तर्घात हुने गरेको बताए । निर्वाचनमा पराजय हुनुको कारण गुटबन्दी र अन्तर्घात नै भएको उनीहरूले दोहो-याए ।

सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्रीद्वय डा. शशांक कोइराला र पूर्णबहादुर खड्का, कोषाध्यक्ष सीतादेवी यादव र सहमहामन्त्री डा. प्रकाशशरण महतले गुटबन्दीकै कारण पार्टी कमजोर भएको बताए ।

निर्वाचनमा टिकट बाँड्नेदेखि, चुनावमा अन्तर्घात हुने र तल्लो तहसम्मै नेता कार्यकर्तामा विभाजित मानसिकता हुँदा कांग्रेसले निर्वाचनमा नमिठो पराजय बेहोर्नुपरेको सबै वक्ताहरूले बताए ।

नेताहरूले दुईतिहाइ बहुमतप्राप्त कम्युनिस्ट सरकार अधिनायकवादतर्फ उन्मुख भएको बताए । उनीहरूले आन्तरिक एकता भए आगामी निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउन सकिने दाबी पनि गरे ।

नेताहरू प्रकशमान सिंह, कृष्णप्रसाद सिटौला, चित्रलेखा यादव, केबी गुरुङ, डा. रामशरण महत, तारानाथ रानाभाट, अर्जुनरनसिंह केसी, प्रवक्ता विश्वप्रकाश शर्माले महासमिति बैठक कांग्रेसका लागि आफूले आफैँलाई सुधार्ने अहम् मौका भएको टिप्पणी गरे ।

देउवाको प्रश्न– के मभन्दा केपी ओली ठीक छन् त ?

पार्टीमा मेरो विरोध गर्ने छुट छ । गल्ती गरिस् भन्दा स्विकार्न पनि तयार छु । तर, केपी ओलीको खिलाफमा माधव नेपालको जति त बोल्नुस् । मेरो मात्र विरोध गर्नुहुन्छ, के मभन्दा केपी ओली ठीक छन् त ? आपसी एकताले हामीलाई आगामी चुनावबाट एक नम्बरको पार्टी बनाउँछ ।

पौडेलको भनाइ– हात उठाएर मात्रै एकता हुँदैन

उम्मेदवारी दिँदा भएको कमजोरीले हामी हा-यौँ । हामी यस्तै तालले अर्को निर्वाचनमा पनि कम्युनिस्टको सामना गर्न सक्दैनौँ । क्षमता, योग्यता र राम्रो मूल्यांकन गरेर टिकट दिन सके मात्रै प्रतिस्पर्धा गर्न सकिन्छ, बहुमत ल्याउन सकिन्छ । तयारी अहिल्यैदेखि थाल्नुपर्छ । एकताबद्ध गराउन हात उठाएर मात्र हुँदैन । आत्मैदेखि मिल्ने र एकता गर्ने कुरा गरौँ ।

गच्छदारले मिलाइदिए देउवा र पौडेलको हात
दिउँसो १ बजेतिर सुरु उद्घाटन कार्यक्रममा १७ वक्ताको सूची थियो । नेताहरूको भाषण ‘गुटबन्दीले कांग्रेस कमजोर बनेको’मै केन्द्रित थियो । उपसभापति विजयकुमार गच्छदारले भने शीर्ष नेताहरूको मन माझ्ने प्रयास गरे । उनले कांग्रेसको माया लागेर ११ वर्षपछि पुरानै घर फर्किएको भन्दै भावुक शैलीमा भाषण सुरु गरे । ०५१ मा कांग्रेसले निर्वाचन हारेपछि गिरिजा, किसुनजी, गणेशमानले एकताको सन्देश दिँदा कांग्रेस ०५६ मा विजयी भएको भन्दै एक भएको सन्देश दिन देउवा र पौडेललाई पनि आग्रह गरे । दुवै नेता उठेर हात हल्लाए । तर, गच्छदारले एक–अर्काको हात समाएर उठाउन भने । उपस्थित महासमिति सदस्यको हुटिङ झन् चर्कियो । देउवाको बायाँपट्टि बसेका विमलेन्द्र निधि र पौडेलेको दायाँ बसेका शशांकले पनि हात मिलाएर उठाउन आग्रह गरे । अन्ततः दुवै शीर्ष नेताले हात मिलाएर उठाए ।

देउवाले दिए रात्रिभोज, आइतबार शशांकको, सोमबार विमलेन्द्रको 
शनिबार सभापति शेरबहादुर देउवाले सदस्यहरूलाई रात्रिभोज दिए । बन्दसत्रमा चारवटा प्रस्ताव ल्याउने भनिए पनि राजनीतिक प्रस्ताव मात्र प्रस्तुत गरेपछि केन्द्रीय सदस्य र महासमिति सदस्य रात्रिभोजमा सहभागी भए । तर, पार्टीले ठूलो राजनीतिक कार्यक्रम गर्दा सभापतिले व्यक्तिगत रूपमा रात्रिभोज आयोजना गरी पैसाको दम्भ देखाएको भन्दै केही नेताले भोज नै बहिष्कार गरेका छन् । आइतबार महामन्त्री डा. शशांक कोइराला र सोमबार उपसभापति विमलेन्द्र निधिले रात्रिभोज दिँदै छन् ।

विधानको सकस कायमै
उद्घाटन कार्यक्रम सकिएपछि शनिबार नै बन्दसत्र सुरु भएको छ । बन्दसत्रमा विधानबाहेकका चारवटा प्रतिवेदन महासमिति सदस्यलाई अध्ययनका लागि वितरण गर्ने भनिएको थियो । तर, राजनीतिक प्रस्ताव मात्र वितरण गरिएको छ । उपसभापति एवं प्रस्ताव समितिका संयोजक विमलेन्द्र निधिले प्रस्ताव पढेर सुनाएका थिए । यी प्रस्तावको अध्ययन गरेपछि आइतबार सात प्रदेशले छुट्टाछुट्टै छलफल गर्नेछन् । महामन्त्रीको सांगठनिक प्रतिवेदन, आर्थिक प्रस्ताव र कोषाध्यक्षको प्रतिवेदन महासमितिको बन्दसत्रमा शनिबार प्रस्तुत नगरिएको केन्द्रीय सदस्य जीवनबहादुर शाहीले बताए ।

कसले के भने ? 
एक भएको सन्देश दिऊँ : विमलेन्द्र निधि 
पार्टी एक हुनुपर्छ भन्ने सबैको चाहना हो । शशांकजी, गच्छदारजी, प्रकाशमानजीको पनि चाहना यस्तै छ । हारेपछि हामी धेरै बोल्यौँ । म किन हारेँ मलाई थाहा छ । रामचन्द्र दाइ, अर्जुननरसिंह केसी र रामशरण महत कसरी हार्नुभयो उहाँहरूलाई थाहा छ । कांग्रेस साँच्चै कमजोर छ । प्रतिपक्षका रूपमा पनि कमजोर छ । अब अर्को निर्वाचनमा जित्नका लागि एक–अर्कालाई दोषारोपण गरेर हुँदैन । वैचारिक र सैद्धान्तिक रूपले प्रस्ट भएर अगामी निर्वाचनमा कसरी एक नम्बर पार्टी बन्ने भनेर अहिलेदेखि नै लागौँ । एक भएको सन्देश दिऊँ ।

कम्युनिस्टसँग भिड्न दुई गुणा हिम्मत र तागत बटुलौँ : विजय गच्छदार 
म ११ वर्षपछि कांग्रेसमा त्यसै फर्किएर आएको होइन । संविधान बनाउनेदेखि देशलाई निकास दिनेसम्मको दल यही हो । मैले पनि १६ बुँदे सहमति गराउने र संविधान जारी गर्नेसम्म भूमिका खेलेँ । अब महासमितबाट कम्युनिस्टसँग भिड्नका लागि दुई गुणा हिम्मत र तागत बोकेर गाउँ फर्किनुपर्छ । पार्टी एक भएको सन्देश यो भेलाले दिनुपर्छ ।

देउवा र पौडेल सम्पूर्ण तागत लगाउनुस् : डा. शशांक कोइराला
पार्टीभित्रको एकतालाई सृदृढ बनाउनुपर्छ । साथीहरूको चित्त दुखाउने काम गर्नुहुन्न । सभापति र वरिष्ठ नेता तपाईंहरू अग्रज हुनुहुन्छ । एकताको निम्ति सम्पूर्ण तागत लगाउनुस् । मेरो सदैव सहयोग रहन्छ । अहिले एकपटक रूखबाट पात खस्दा तरंग दिएको छ । तर, वृक्ष सुकिसकेको छैन । हाम्रो धर्म र परम्परामा हस्तक्षेप हुँदै छ । धर्मान्तरको विषयलाई बंग्याइएको छ । अब इतिहासको वस्तुनिष्ठ समीक्षा गर्दै अगाडिको बाटो तय गर्नुपर्छ ।

एक नम्बर पार्टी बनाउनुपर्छ : पूर्णबहादुर खड्का
हामीबीच असहमति विमति छन् । एकता छैन, गुट र उपगुट छन् भन्ने हाम्रा अभिव्यक्तिबाट आएका छन् । आपसमा सौहाद्र्रता बढाएर यस्ता तिक्तता मेट्नुपर्छ । पार्टीका सबै संरचनालाई व्यवस्थित बनाएर अर्को निर्वाचनमा पहिलो पार्टी बनाउने दिशामा जानुपर्छ ।

गुटबन्दीबाट माथि उठौँ : सीतादेवी यादव
पार्टीभित्रको तीव्र गुटबन्दी र ध्रुवीकरणलाई हटाएर बलियो र पहिलो पार्टी बनाउन लाग्नुपर्छ । किनकि सरकार निरकुंश बन्दै जाँदा यही पुरानो र लोकतान्त्रिक पार्टीप्रति जनताको भरोसा छ । केन्द्रीय सदस्य बढाएपछि पदाधिकारी पनि बढाउनुपर्छ । ३३ प्रतिशत महिलाको सुनिश्चित गर्नुपर्छ । पार्टीले लिने सदस्यता शुल्क र लेबीलाई व्यवस्थित बनाएर आर्थिक कोष व्यवस्थित बनाउनुपर्छ ।

कांग्रेस एक्लैको बहुमत : डा. प्रकाशशरण महत
हामी निर्वाचनमा पराजित भएका छौँ, तर निराश र हतास नहोऊँ । अर्को निर्वाचनमा कांग्रेस एक्लैले बहुमत ल्याउँछ । सभापतिको बोली बुझिँदैन भनेर आलोचना गरिन्छ । तर, बोल्ने मात्रै गुणले पार्टी चल्दैन । सुशील कोइरालाको पनि बोली बुझिँदैनथ्यो । तर, उहाँले संविधान बनाउने नेतृत्व गर्नुभयो । सभापति देउवाजी नभएको भए निर्वाचन हुने थिएन । साथै, निर्वाचनमा हाम्रो भोट घटेको छैन । अब नयाँ मतदातामा भोट प्रतिशत बढाउने गरी प्रचार, संगठन गर्नुपर्छ ।

इतिहासको कुराले भोट पाइँदैन : प्रकशमान सिंह
इतिहासको मात्रै कुरा गरेर अब कांग्रेसले भोट पाउँदैन । महासमितिबाट उपलब्धि र कमजोरी केलाएर महासमितिलाई सार्थक बनाउनुपर्छ । नयाँ संरचनाअनुसार गाउँ, नगर, वडा, बुथका समितिमा समयमै अधिवेशन गर्नुपर्छ । अनि जिल्ला प्रदेश र केन्द्रको अधिवेशन समयमा गर्नुपर्छ । दुई वर्ष सुतेर फेरि जनताले भोट दिँदैनन् । विधानको प्रभावकारी कार्यान्वयन गरौँ ।

आफैँलाई सुधार्ने मौका : कृष्णप्रसाद सिटौला
हामीले आफूले आफैँलाई सुधार्ने मौका आएको छ । दुई वर्ष चुप लागेर बस्दा कम्युनिस्टसँग मुकाबिला गर्न सकिँदैन । संघीय संरचनाअनुसार छिटो अधिवेशन गरेर जानुपर्छ । सदस्यताको विषय तल्लो तहमै टुंगिन दिनुपर्छ । महासमितिमा सदस्यहरूले खुलेर कुरा राख्नुस् । संविधानको दायराभित्र सरकार बसेको छैन । कांग्रेसलाई बलियो बनाएर सरकारलाई दबाब दिनुपर्छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *