भारतमा अपहरण, नेपालमा बन्धक

काठमाडौं – झापाका एक नेताकै योजनामा भारतीय बालकको अपहरण भएको खुलेको छ । भारत बिहार सुपौलका मोहम्मद सद्दामका ७ वर्षीय छोरा महफुज आलमको अपहरण भएको थियो । अपहरणमा संलग्न गौरीगञ्ज गाउँपालिकाका ४७ वर्षीय बद्री यादवसहित तीन जनालाई प्रहरीले पक्राउ गरेपछि यस्तो रहस्य खुलेको हो ।

पक्राउ परेका यादव संघीय समाजवादी फोरमका नेता हुन् । उनी गत स्थानीय तहको निर्वाचनमा गौरीगञ्ज गाउँपालिकाको अध्यक्षका उम्मेदवार बनेका थिए । त्यसअघि ०६४ र ०७० सालको निर्वाचनमा वर्तमान प्रधानमन्त्री केपी ओलीको निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ उम्मेद्वार बनेका थिए ।

उनै यादवको योजना र संलग्नतामा गौरीगञ्ज–४ का श्रीप्रसाद मुखिया र उनकी श्रीमती अञ्जुदेवी मुखियाले ७ वर्षीय बालक आलमलाई अपहरण गरेका थिए । प्रहरीका अनुसार भारतको सुपोल जिल्लाबाट बालक महफुज २० मंसिरमा अपहरणमा परेका थिए ।

मोटरसाइकलमा आएका दुई जनाले खेलिरहेको महफुजलाई बिस्कुट दिएर फकाउँदै नेपालतर्फ ल्याएका हुन् । अपहरण गरी बालकलाई उनीहरुले झापाको गौरीगञ्ज हुँदै नेपालतर्फ ल्याएका थिए ।

बालकलाई प्रहरीले मंगलबार दमक–५ गोर्खाली टोलस्थित देउराली होटलको कोठा नम्बर १०७ मा बन्धक बनाएर राखेको अवस्थामा फेला पारी उद्दार गरेको छ । बालकलाई इलाका प्रहरी कार्यालय दमक र गौरीगञ्जको टोलीले अपहरणमुक्त गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।

ढकालका अनुसार बालकको अपहरण भएको सूचना प्रहरीले सोमबार साँझ पाएको थियो । बालकलाई छोडिदिए बापत १५ लाख भारतीय रुपैयाँ अपहरणकारीले माग गरेको प्रहरीको भनाइ छ । बालक रहेकै स्थानबाट प्रहरीले २७ वर्षकी अञ्जुदेवीलाई पक्राउ गरेको थियो ।

उनकै सूचनाका आधारमा मंगलबार बिहान गौरीगञ्ज गाउँपालिका–६ खजुरगाँछी बस्ने नेता बद्री यादवलाई गौरीगञ्ज चोकबाटबाट र सोही स्थानका श्रीप्रसाद मुखियालाई गौरीगञ्ज गाउँपालिका–४ कदम गाँछीस्थित उनीहरुकै घरबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ गरिएका तीनै जनालाई अपहरण तथा शरीर बन्धक मुद्दामा झापा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । अपहरणमा संलग्न तीनै जनालाई बुधबार जिल्ला प्रहरी कार्यालय भद्रपुरले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । अपहरणमा परेका बालकका बाबु मोहम्मद सद्दामले नेपाल प्रहरीलाई धन्यवाद दिएका छन् ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *