भाजपाको हारपछी मोदीको प्रतिक्रिया : हारजित जिन्दगीको हिस्सा, राहुल भन्छन् लोकसभामा पनि हराउँछौ

नयाँ दिल्ली – भारतका ५ वटा राज्यमा भारतीय जनता पार्टी (भाजपा) ले लज्जाजनक हिसाबले चुनाव हारेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार राति १० बजे ट्वीटरबाट कांग्रेस आईलाई जितका लागि बधाइ दिए ।
उनी सामाजिक सञ्जालमा निरन्तर आइरहने भएपनि मंगलबार भने दिनभरी मौन रहेका थिए ।

उनले ट्वीटरमा सन्देश दिँदै कांग्रेसका अतिरिक्त तेलंगनामा विजयी हुने क्षेत्रीय दल तेलंगाना राष्ट्र समिति (टीआरएस) मिजोरममा विजयी हुने   मिजो नेशनल फ्रन्ट (एमएनएफ) लाई समेत बधाइ दिएका छन् । भाजपाले चुनावमा १५ वर्षदेखि राज गरेको छत्तीसगढ र मध्यप्रदेश तथा ५ वर्षअघि अत्यधिक बहुमत ल्याएको राजस्थानमा नराम्रोसँग चुनाव हारेको छ ।

तेलंगना र मिजोरममा भने क्षेत्रीय दलले विजय हासिल गरेका छन् । उनले ट्वीटरमा जनताको जनादेशको विनम्रतापूर्वक स्वीकार गर्ने जनाउँदै छत्तीसगढ, राजस्थान र मध्य प्रदेशका जनतालाई सेवा गर्ने अवसर दिएकोमा आभार प्रकट गरेका छन् ।
विधानसभा चुनावमा भाजपाका कार्यकर्ताले रातदिन मेहनेत गरेको र उनीहरुको मेहनेतको सलाम गर्छु भन्दै मोदीले हार र जित जिन्दगीको हिस्सा भएको बताएका छन् ।

कांग्रेस आईका अध्यक्ष राहुल गान्धीले भने मंगलबार पत्रकार सम्मेलन नै गरेर यसपालि भाजपालाई चुनाव हराएको र सन् २०१९ को लोकसभा चुनाव पनि हराउने बताएका छन् । कांग्रेस अध्यक्ष राहुललाई यसअघि अपरिपक्व भन्ने आरोप लाग्ने गरेकोमा अहिलेको विधानसभा निर्वाचनका कारण उनको उचाई ह्वात्तै बढेको छ ।

भारतका ५ वटा राज्यमा भएको विधान सभा निर्वाचनपछि मंगलबार मतगणनाको क्रममा आएको परिणामले सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) लाई ठूलै झड्का महसुस गराएको छ ।

यसले गर्दा प्रधानमन्त्री नरेन्द्र मोदीलाई समेत ठूलै पीडा अनुभूति भएको अनुमान भारतमा भइरहेको छ । किनकि चुनावमा उनी नै कमाण्डरका रुपमा प्रचार प्रसारमा संलग्न थिए । तर, निकै महत्वपूर्ण मानिएका पाँच वटै प्रदेशमा भाजपा नराम्रोसँग पराजित भयो ।

यो निर्वाचनको परिणामले मोदीलाई व्यक्तिगत रुपमा र केन्द्र सरकारलाई के कस्तो असर गर्ला भन्ने प्रश्न समेत उब्जिएको छ । प्रमुख विपक्षी कांग्रेस पार्टीले छत्तीसगढ र राजस्थान राज्यमा आफ्नो सरकार बनाउन सक्ने मंगलबार सम्ममा प्रष्ट भइसकेको थियो । मध्य प्रदेशमा भने कांग्रेस केही सिटमात्रै माथि रहेको छ । यद्यपि भाजपालाई सरकार बनाउनका लागि क्षेत्रीय दलहरुसँग मिल्नुपर्ने अवस्था छ तर त्यसो गर्न सजिलो भने छैन । यी पाँच प्रदेशका निर्वाचनलाई आगामी मे महिनामा हुन लागेको संसदीय निर्वाचनको पूर्वसंकेतका रुपमा पनि व्याख्या गरिएको छ ।

यो पटक चुनावमा देखिएको ग्रामीण असन्तोषका मुद्दाहरू नै आगामी वर्ष हुने आमनिर्वाचनका बेला पनि विशेष चर्चामा रहने भारतीय विश्लेषकहरुको भनाइ रहेको छ । भारतका ग्रामीण क्षेत्रमा बेरोजगारी, विकासको अभाव र कृषि संकट विशेष असन्तोषका मुद्दा हुन् । प्रधानमन्त्री मोदीलाई अहिलेपनि भारतमा प्रभावशाली व्यक्तित्वकै रुपमा लिने गरिएको छ ।

तर, उनले विगतमा गरेको बाचा पूरा नगरेको आरोप भने खेपिरहेका छन् । उनले धर्मको एजेण्डा बढी उचालेको र विदेश भ्रमणमात्रै बढी गरेको आरोप पनि छ ।  कांग्रेसले भने यो बीचमा विकासका मुद्दालाई बढी उठाएको थियो ।  मंगलबार देखिएको निर्वाचन मत परिणामले राहुल गान्धी नेतृत्वको कंग्रेस पार्टीमा राम्रो उर्जा थपेको सबैले स्वीकारेका छन् ।
(एजेन्सीहरुको सहयोगमा)

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *