राजदुतको संसदीय सुनुवाइमा प्रधानमन्त्रीको बिहेको चर्चा

काठमाडौं – संसदीय सुनुवाइ विशेष समितिले चार देशका लागि प्रस्तावित राजदूतको नाम सर्वसम्मत अनुमोदन गरेको छ। आइतबारको समिति बैठकले भारतका लागि निलाम्बर आचार्य, मलेसियाका लागि उदयराज पाण्डे, इजरायलका लागि अन्जान शाक्य र युनाइटेड अरब इमिरेटस (यूएई) का लागि प्रस्तावित राजदूत कृष्णप्रसाद ढकालको नाम सर्वसम्मत अनुमोदन गरेको हो। संसदीय समितिबाट अनुमोदन भएसँगै चारै जनाको नियुक्तिका लागि बाटो खुलेको छ।

राजदूतको सुनुवाइ समितिमा प्रधानमन्त्री केपी ओलीको बिहेको प्रसंगसमेत चलेको छ। इजरालयका लागि प्रस्तावित राजदूत शाक्यलाई प्रधानमन्त्री ओलीकी साली नाता पर्ने भन्दै सञ्चारमाध्यममा समाचार प्रकाशित/प्रसारित भएपछि समितिमा यो विषयले प्रवेश पाएको हो।

संघीय समाजवादी फोरममा राजेन्द्र श्रेष्ठ र कांग्रेसका भीमसेनदास प्रधानले ओलीकी साली नाता पर्ने भन्दै शाक्यका विषयमा झुटा समाचार प्रकाशित/प्रसारित भएको भन्दै खण्डन गरे।

‘यो त सुरेन्द्र कमरेड (नेकपाका नेता सुरेन्द्र पाण्डे)लाई झलनाथ खनालको साढु भाइ भने जस्तै हो,’ फोरमका श्रेष्ठले भने, ‘कुनै साइनो पनि नभएकालाई फलानीको साली भनेर लेख्नु गलत हो।’

त्यसपछि समितिमा नेकपाका नेता पाण्डेले पनि राजदूतमा सिफारिस शाक्य र प्रधानमन्त्रीको कुनै पनि नाता नपर्ने दाबी गरे। ‘केपी ओलीको बिहे नै मैले गरिदिएको हूँ,’ ठट्यौली शैलीमा पाण्डेले भने, ‘कुरै नबुझी पत्रकारले समाचार लेख्ने गरेकाले बेला बेलामा समस्या आइलाग्छ।’

२०४६ सालमा बहुदल आएको बेलाको प्रसंग उल्लेख गर्दै पाण्डेले भने, ‘बहुदल आएको बेला पार्टीले मलाई विराटनगरबाट कर्णालीको इञ्जार्जको जिम्मेवारी दियो। विराटनगरका पत्रकारले मदन भण्डारीको जेठानको सरुवा भनेर समाचार लेखे। हालका राष्ट्रपतिको थर पनि पाण्डे भएकाले मलाई मदन भण्डारीको जेठान बनाइदिएका थिए।’

संसदीय समितिले सार्वजनिक सूचना जारी गरेर मंसिर १६ सम्म प्रस्तावित चारैजना विरुद्ध उजूरी संकलन गरेको थियो। तर एउटा पनि व्यक्तिगत उजूरी नपरेपछि समितिले चारै जनालाई आइतबार बोलाएर सुनुवाइ गरेको हो। प्रस्तावित राजदूतसँग समितिमा सांसदले व्यक्तिगत प्रश्न नगरी भावी योजना, सम्बन्धी देशसँग नेपालको सम्बन्ध सुदृढ र राजदूतले गर्नुपर्ने कामका विषयमा प्रश्न गरेका थिए।

समितिमा सुरुमा भारतका लागि प्रस्तावित राजदूत निलाम्बर आचार्यको सुनुवाइ गरिएको थियो। आचार्यलाई समितिमा १० जना सांसदले प्रश्न गरेका थिए।

जवाफमा आचार्यले भने, ‘भारतसँग आशंका मेटाउने र सम्बन्ध सुधार गर्नुपर्ने छ।’ पहिलो संविधानसभाको संवैधानिक समितिका सभापति रहेर काम गरेका आचार्यले भारतसँग खुला सिमाना भएपनि मन खुला नभएको बताए।

‘म जागिर खान राजदूत बन्न लागेको होइन,’ आचार्यले भने, ‘सरकारले जुन चुनौतीपूर्ण जिम्मेवारी दिएको छ। यसमा मेरो योग्यता र क्षमता अनुसार नेपालर भारतको सम्बन्ध उचो बनाउन लाग्नेछु।’

नेपाल र भारतको सम्बन्ध लामो भएपनि बीचबीचमा समस्या देखा परिरहेको आचार्यले बताए। ‘राजदूत भइसकेपछि संवादलाई अगाडि बढाएर नेपालको छवि र प्रतिष्ठा उचो बनाउन भूमिका खेल्छु,’ आचार्यले भने, ‘नेपालको स्वतन्त्र परराष्ट्र नीतिलाई सर्वोपरी राखी निष्ठापूर्वक काम गर्नेछु।’

सत्तासीन नेकपाका सांसद सुरेन्द्र पाण्डेले प्राथमिकता दिएर काम गर्न आचार्यलाई सुझाव दिए। कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदनलाई कार्यान्वयनमा ल्याउने भूमिका खेल्न सुझाव दिए। प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्न दिपकुमार उपाध्याय फर्केपछि भारतमा राजदूत पद खाली थियो।

यस्तै मलेसियाका लागि प्रस्तावित पाण्डे यसअघि साउदी अरेबियाका लागि राजदूत बनिसकेका हुन्। मलेसियामा रहेका नेपाली कामदारको चुस्त दुरुस्त विवरण संकलन गरी कामदारका समस्या समाधानमा ध्यान दिने प्रतिबद्धता पाण्डेले जनाए। परराष्ट्रका सहसचिव डा. निरन्जनमान सिंह बस्न्यात फर्केपछि मलेसियामा करिब डेढ वर्षदेखि राजदूत पद खाली थियो।

यूएईमा सिफारिस परराष्ट्र मन्त्रालयका सहसचिव ढकाललाई पनि सांसदले दुई देशबीचको सम्बन्ध, नेपाली कामदारका समस्या समाधानका विषयमा विभिन्न प्रश्न गरे। युएईमा पनि करिब तीन वर्षदेखि राजदूत खाली थियो। इजरालका लागि प्रस्तावित शाक्यको नाम पनि समितिले सर्वसम्मत अनुमोदन गरेको छ। नेपालका ३० मुलुकमा दूतावास, तीन स्थानमा राष्ट्रसंघीय स्थायी नियोग र ६ स्थानमा वाणिज्य र महावाणिज्य दूतावास रहेका छन्।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *