खेलमा पस्ने बित्तिकै च्याम्पियन भइदैन : प्रधानमन्त्री ओलि

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संघीयता कार्यान्वयनको प्रारम्भिक चरणमा भएकोले आफ्ना अनुभवहरुबाट सिक्दै यसलाई मजवुद बनाउनुपर्ने बताएका छन् । अन्तर प्रदेश परिषदको पहिलो बैठकलाई आइतबार सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओलीले संघीयता नेपालको लागि नयाँ विषय भएकोले यसलाई संरचनागत रुपमा बलियो बनाउन आफैं लाग्नुपर्ने बताए ।

“मूख्यमन्त्रीको कार्यालय, प्रदेश मन्त्रीको कार्यालय, आवास जस्ता कुरा केही समय अघिसम्म हाम्रो सोचमा थिएनन्,” प्रधानमन्त्री ओलीले भने, “अहिले तिनलाई व्यबहारिक रुपमै प्रयोग गर्नुपर्दा केही असजिलो महसुस गरेका हौंला । खेलमा पस्ने बित्तिकै कोही खेलाडी पनि च्याम्पियन हुँदैन । अभ्यास गर्दै गएपछि च्याम्पियन हुन्छ । हाम्रा लागि संघीयता त्यस्तै नयाँ खेल हो । तर यसमा हामी च्याम्पियन सावित हुनेछौं ।”

बैठकमा प्रदेशका मुख्यमन्त्रीहरुले संघीयता कार्यान्वयनमा देखिएका अप्ठयारा तत्काल हटाइ दिन प्रधानमन्त्री ओलीसँग आग्रह गरेका छन् ।

अन्तर प्रदेश परिषदको प्रथम बैठकमा बोल्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संघीयता कार्यान्वयनका लागि आवश्यक कर्मचारी व्यवस्थापन, कानुन निर्माण र बजेटका लागि उचित व्यवस्था गर्न ढिलाइ नगर्न प्रधानमन्त्री ओलीको गम्भीर ध्यानाकर्षण गराएका थिए ।

आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा आयोजित परिषदको पहिलो बैठकमा उनीहरुले प्रदेश सरकारले हालसम्म गरेको कामको प्रगति विवरण पनि प्रधानमन्त्री ओलीसमक्ष प्रस्तुत गरेका थिए । कर्मचारी व्यवस्थापन, बजेटको व्यवस्थापन, कानुनलगायतका उचित प्रबन्ध गर्न ढिलाई नगर्न प्रधानमन्त्री ओलीलाई आग्रह गरिएको प्रदेश २ का मुख्यमन्त्री राउतले जानकारी दिए ।

उनले अपेक्षा अनुसार संघीय सरकारबाट सहयोग नभएपछि प्रधानमन्त्रीलाई आफूहरुले गुनासो गरेको पनि स्पष्ट पारे ।

यता जवाफमा प्रधानमन्त्री ओलीले प्रदेशमा विकास, निर्माणको कामलाई तीव्रता दिन आफू प्रतिवद्ध रहेको उल्लेख गर्दै त्यसका लागि आवश्यक सबै व्यवस्था गर्न ढिलाई नहुने प्रतिवद्धता व्यक्त गरे ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *