नेकपाका शिर्ष नेताले किन गरे सचिवालय बैठक बहिष्कार ?

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई बैठक छल्न थालेको आरोप लाग्न थालेको छ ।

युनिभर्सल पिस फेडेरसनले आयोजना गरेको एसिया प्रशान्त सम्मेलनमा सरकारले सहयोगीको भूमिका निर्वाह गरेको र पार्टीभित्र चर्को रूपमा कुरा उठ्ने भयले उनले बैठक  ‘फेस’ गर्न नचाहेको टिप्पणी सचिवालय तहबाटै हुन थालेको हो ।
नेकपाले शनिबार दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालयको बैठक बोलाएको थियो ।

बैठकमा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल अनुपस्थित भएपपछि वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधव नेपाल, सचिवालय सदस्य वामदेव गौतम, नारायणकाजी श्रेष्ठले बैठक बहिस्कार गरेका छन् ।
आधा घन्टा कुरेपछि पनि बैठक हुनेनहुने सूचना नपाएपछि अपमानित महसुस हुँदै फर्किएको नेताहरूले जानकारी दिएका छन् ।

“हामीले आधा घन्टा पर्खियौँ, बिना सूचना उहाँ (पार्टी अध्यक्ष केपी ओली) अनुपस्थित रहनुभयो । हामीलाई जानकारी गराउनुभएन । उहाँ व्यस्त हुनुहोला, हाम्रो पनि काम थियो, बैठकबाट बाहिरियौँ,” नेता खनालले भने ।
पार्टी अध्यक्षको समय व्यवस्थापनसँग शीर्ष नेताहरू रुष्ट थिए । कार्यक्रममा ढिला आउने, पट्यारलाग्दो भाषण गर्ने । समय खेर फाल्ने शैलीबारे नेता खनाल, नेपाल र श्रेष्ठले शुरूदेखि नै विमति राख्दै आएका थिए ।

श्रेष्ठले केहीसमयअघि शीर्ष नेताले समयको पालना नगरेको भन्दै केपी ओलीकै अघिल्तिर आक्रोश पोखेका थिए । तर, जति गरे पनि सुध्रने छाँट नदेखाएपछि सचिवालय सदस्य रूष्ट बनेको स्रोतको दाबी छ ।

भएको के हो ?

नेकपाकी पूर्व सांसद् मणि खुम्बु क्यान्सरसँग मुकाबिला गरिरहेकी छन् । उदयपुर घर भएकी पूर्व सांसद अन्तिम अवस्थामा पुगेको भन्दै अध्यक्षद्वयले नै भेट्न खोजेका थिए । समय मिलेको थिएन । अध्यक्ष प्रचण्डले त्यसबारेमा परामर्श गरिरहँदा नेताहरू बाहिरिएको प्रधानमन्त्री निकट स्रोतले जानकारी दियो ।

“दुई अध्यक्षबीच छलफल हुँदैथियो, उहाँहरू बाहिरिनुभयो, अपमानितका बारेमा पार्टी नेतृत्वले नै बोल्ने कुरा हो,” प्रधानमन्त्रीनिकट स्रोतले बतायो ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *