आजदेखी इपिएल, यी हुन् आकर्षक पक्ष

काठमाडौ – पछिल्लो समय नेपालमा पनि क्रिकेटको छोटो संस्करण टी–२० फर्म्याटको प्रतिस्पर्धा बढेको छ । पोखरा प्रिमियर लिगसँगै अब नेपालमा वार्षिक रूपमा ३ वटा टी–२० फ्रेन्चाइजबेस क्रिकेट प्रतियोगिता हुने पक्का छ । यी तीन प्रतियोगिता नियमित हुँदा खेलाडी पनि व्यस्त हुनु स्वाभाविकै हो । पोखरा प्रिमियर लिग र धनगढी प्रिमियर लिग मोफसलका ठूला टी–२० क्रिकेट प्रतियोगिता हुन् । काठमाडौंमा शनिबारबाट एभरेस्ट प्रिमियर लिग (इपिएल) सुरु हुँदै छ । फ्रेन्चाइज प्रतियोगिताको आकर्षण खेलमा मात्र होइन, यसको व्यावसायिकताले क्रिकेटप्रतिको क्रेज थप बढ्दै गएको छ । प्रतियोगितामा चर्चित विदेशी खेलाडीको सहभागिताले पनि यसको स्तरगत फरक पहिचान बनाएको छ ।

थप परिष्कृत
सन् २०१६ बाट सुरु भएको इपिएलको गत संस्करण थप परिष्कृत भयो । गत संस्करणमा विदेशी खेलाडी अनिवार्य गरिएको थियो । यसपटक थप निरन्तरता दिँदा आयोजना र व्यवस्थापन तथा दर्शकको मनोरञ्जनका लागि कुनै कसर बाँकी नराखिने आयोजकले जनाएको छ । पहिलो संस्करणमा व्यावसायिक घरानाकै नामबाट प्रतियोगिता सुरु भएको थियो । दोस्रो संस्करणमा आएर विभिन्न सहरका नामबाट प्रतियोगिता गर्न सुरु भयो । गत संस्करणमै सहभागिता जनाएका ६ टोली नै यसपटक उपाधि होडमा हुनेछन् ।

यस्तो छ फर्म्याट
इपिएल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दुई साता चल्नेछ । प्रतियोगिताको समूह चरणमा प्रत्येक टोलीले एक–अर्काविरुद्ध एकल राउन्डरोबिनका आधारमा प्रतिस्पर्धा गर्नेछन् । अंकतालिकाका शीर्ष दुई टोलीले पहिलो क्वालिफायर खेल्नेछन् । उक्त खेलको विजेता सीधै फाइनल प्रवेश गर्नेछ । तालिकामा तेस्रो र चौथो हुने टोलीले इलिमिनेटर राउन्डमा प्रतिस्पर्धा गर्नेछन् । पराजित हुने टोली बाहिरिँदा विजेता दोस्रो क्वालिफायरका लागि छनोट हुनेछ, जहाँ पहिलो क्वालिफायरमा पराजित हुने टोलीसँग तेस्रो हुने टोलीले प्रतिस्पर्धा गर्नेछ । दोस्रो तथा तेस्रो टोलीबीचको विजेताले फाइनलमा स्थान बनाउनेछ ।

व्यावसायिक चियरलिडर्स
गत संस्करणबाट इपिएलले चियरलिडर्सको प्रयोग गरेको थियो । नेपाली चियरलिडर्सप्रति धेरै आकर्षण नदेखिँदा यसपटक आयोजकले इंग्ल्यान्डबाट चियरलिडर्स ल्याएको छ । इपिएलको हरेक खेलमा चियरलिडर्स व्यस्त रहनेछन् । चियरलिडर्सले चौका, छक्का लाग्दा र विकेट झर्दा नाचेर दर्शकलाई मनोरञ्जन प्रदान गर्ने काम गर्नेछन् । विश्व क्रिकेटको छोटो संस्करणलाई रोमाञ्चक बनाउने उद्देश्यसहित चियरलिडर्सको प्रयोग हुने गरेको छ । तर, नेपालमा भने पहिलोपटक व्यावसायिक चियरलिडर्स प्रयोग गरिएको आयोजकले जनाएको छ । ६ व्यावसायिक चियरलिडर्सले हरेक खेलमा मनोरञ्जन प्रदान गर्नेछन् ।

उद्घाटनमा ज्ञानेन्द्र र पारस
शनिबारको उद्घाटन खेलमा साबिक विजेता विराटनगर वारियर्स र ललितपुर पेट्रियट्सले प्रतिस्पर्धा गर्नेछन् । पारस खड्काको कप्तानीको विराटनगर र ज्ञानेन्द्र मल्लको नेतृत्वको ललितपुरबीचको प्रतिस्पर्धाले पहिलो दिन नै दर्शकलाई तताउनेछ । राष्ट्रिय टिमका कप्तान र उपकप्तान दुवैले आ–आफ्नो टोली बलियो रहेको दाबी गरेका छन् । उनीहरूले जित निकाल्ने आशा व्यक्त गरे ।

पारसले हरेक टोली उत्तिकै बलियो रहेको भन्दै मैदानमा हुने प्रदर्शन नै महत्वपूर्ण हुने बताए । ‘सबैले मिहिनेत गरेर टोली तयार गरेका छन्, सबैको लक्ष्य उपाधि नै हुन्छ । त्यसैले मैदानमा गरिने प्रदर्शनले नै टिमको अवस्था तय हुन्छ,’ पारसले भने, ‘म यो प्रतियोगितामा उत्साही छु ।’ भारतका उमेश पटवालको प्रशिक्षणमा रहेको विराटनगर लगातार दोस्रोपटक उपाधि भित्र्याउने रणनीतिमा छ । राष्ट्रियसँगै अन्तर्राष्ट्रिय स्टारहरूले भरिएको विराटनगर उपाधिको मुख्य दाबेदार टिम हो ।

यता ललितपुरका कप्तान ज्ञानेन्द्रले कसले कस्ता खेलाडी ल्याए भन्दा पनि कुन खेलाडीले कस्तो प्रदर्शन ग¥यो भन्ने महत्वपूर्ण हुने बताए । उनले भने, ‘हाम्रो लक्ष्य जित नै हो । त्यसकै लागि टिमले तयारी गरिरहेको छ । हामीले टिममा समावेश गरेका खेलाडीलाई विश्वास गरेरै टिममा राखेका हौँ । त्यसैले हामी बलियो भएको र जित्ने कुरामा विश्वास राख्छौँ ।’

१९ विदेशी खेलाडी
यसपटक इपिएलमा १९ विदेशी खेलाडीको प्रदर्शन हेर्न सकिनेछ । विदेशीमा इंग्ल्यान्ड, दक्षिण अफ्रिका, आयरल्यान्ड, हङकङ, युएई र नेदरल्यान्डका खेलाडी छन् । आयोजकले प्रत्येक टोलीले अनिवार्य रूपमा ३ विदेशी खेलाडी राख्नुपर्ने प्रावधान बनाएको छ । तर, विराटनगर र पोखराले समान ४ विदेशी खेलाडी भित्र्याएका छन् । अन्य क्लबले नियमानुसारै ३–३ विदेशी खेलाडी राखेका छन् । काठमाडौंले सुरुमै जिम्बावेका अलराउन्डर सिकन्दर राजालाई अनुबन्ध गरेको भनी सनसनी मच्चाएको थियो । नेपालका टी–२० लिगमा अनुबन्ध भएका मध्ये सिकन्दर अहिलेसम्मकै हाइप्रोफाइल खेलाडी हुन् । तर, लिग सुरु हुनु एक साताअघि सिकन्दरले व्यक्तिगत कारण देखाउँदै आफू इपिएलमा सहभागी हुन नसक्ने भनी सामाजिक सञ्जालमा जानकारी दिए ।

यस्ता छन् टिम र खेलाडी

काठमाडौं किंग्स ११
सोमपाल कामी (कप्तान), नरेश बुढाएर, सिद्धान्त लोहनी, जितेन्द्रकुमार मुखिया, सागर पुन, राजु रिजाल, विक्रमकुमार भुसाल, अमरसिंह रौटेला, संसाद सेख, अमित श्रेष्ठ, नितेश थापा, पुरन विश्वकर्मा
विदेशी खेलाडी ः रोहन मुस्तफा (युएई), केभिन ओ ब्रायन (आयरल्यान्ड), प्रदीप
साहु (भारत)

ल ललितपुर पेट्रियट्स
ज्ञानेन्द्र मल्ल (कप्तान), सन्दीप लामिछाने, ललितनारायण राजवंशी, कुशल भुर्तेल, सुमित झा, सन्दीप जोरा, नारायण जोशी, योगेन्द्रसिंह कार्की, रासिद खान, शंकर राना, पवन सर्राफ, सोनु तामाङ, कमल खत्री
विदेशी खेलाडी ः सनी पटेल (भारत), गौरव तोमर (भारत), जयकिसन
कोल्सावाल (भारत)

ल चितवन टाइगर्स
पृथु बास्कोटा (कप्तान), दीपेन्द्रसिंह ऐरी (मार्की प्लेयर), दिलीप नाथ, ललितसिंह भण्डारी, कमलसिंह ऐरी, शाहब आलम, सागर ढकाल, आदिल खान, भीम सार्की, सन्दीप सुनार, अकाश थापा
विदेशी खेलाडी ः पल स्ट्रलिङ (आयरल्यान्ड), जोन सिम्प्सन र जर्ज
स्कट (इंग्ल्यान्ड)
ल विराटनगर वारियर्स
पारस खड्का (कप्तान), वसन्त रेग्मी, अनिलकुमार साह, आसिफ सेख, आकाश विष्ट, हरिबहादुर चौहान, रामनरेश गिरी, प्रनित थापा, सुमित महर्जन, पुष्प थापा
विदेशी खेलाडी ः बाबर हयात
(हङकङ), स्मित पटेल (भारत), रोल्फ
भान डर मर्वे (नेदरल्यान्ड), पल भान मिकिरिन (नेदरल्यान्ड)

ल भैरहवा ग्लाडिएटर्स
शरद भेषवाकर (कप्तान), प्रदीप ऐरी, आरिफ सेख, रोहितकुमार पौडेल, भुवन कार्की, प्रकाश केसी, कृष्ण कार्की, हरिशंकर शाह, दीपेश श्रेष्ठ, भूपेन्द्र थापा
विदेशी खेलाडी ः मोहमद नाभिद (युएई), रविइन्दर सिंह (भारत) रायन टेन डोस्काटे (नेदरल्यान्ड)

ल पोखरा राइनोज
कायल कोट्जर (कप्तान ), शक्ति गौचन, विनोद भण्डारी, सुसन भारी, सुनील धमला, राजेश पुलामी मगर, सौरभ खनाल, विपिन खत्री, किशोर महतो, सुवेन्दु पाण्डे, विक्रम सोब, नन्दन यादव
विदेशी खेलाडी ः कायल कोट्जर
(कप्तान) (स्कटल्यान्ड), रिचर्ड लेभी (दक्षिण अफ्रिका), पल कोग्लिन (इंग्ल्यान्ड), सन्नी भिमसारिया (हङकङ)

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *