नेकपा सचिवालय बैठक सरेको सर्‍यै

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बैठक आज (शुक्रबार) पनि बस्न सकेन । पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय योजना आयोगको बैठकमा सहभागी हुनुपरेकोले आज अपराह्नका लागि तय भएको बैठक शनिबार दिउँसो ३ बजे बस्ने गरी सारिएको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिए ।

राष्ट्रिय योजना आयोगले पञ्चवर्षीय योजना र पच्चीस वर्षीय योजना तर्जुमा गर्न लागेको र प्रधानमन्त्री व्यस्त रहेकाले बैठक सार्नुपरेको रिमालको भनाइ थियो । सचिवालयको बैठक नबस्दा सरकार र पार्टीका काममा अन्योल देखिएको सचिवालय सदस्य झलनाथ खनालले जानकारी दिए ।
शनिबार बस्ने बैठकमा सरकारका पछिल्ला गतिविधि तथा एसिया प्सासिफिक समिटमा सरकारको संलग्नताका विषयमा घनिभूत छलफल हुने नेताहरूले जानकारी दिएका छन् ।
“सरकारका पछिल्ला गतिविधिका बारेमा बाहिर जे टीकाटिप्पणी भइरहेको छ, त्यसका बारेमा बैठकमा कुरा उठ्छ । प्रधानमन्त्रीको जवाफको प्रतीक्षामा छौँ,” खनालले भने ।
एसिया प्रशान्त सम्मेलनलगायत सरकारका पछिल्ला गतिविधिप्रति नेकपामा सचिवालय तहका नेता सन्तुष्ट छैनन् । त्यस्तै एकीकरण प्रक्रिया विस्तार हुन नसकेको, पोलिट्ब्युरो गठन, केन्द्रीय सदस्यको कार्यविभाजन, स्थायी कमिटीको बैठक आह्वानप्रति पार्टी नेतृत्व उदासीन भएको भन्दै यस विषयमा कुरा उठाइने सचिवालयका नेताहरूले जानकारी दिएका छन् ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *