भोलिदेखी इपिएल सुरु, उद्घाटन खेलमा बिराटनगर र ललितपुर भिड्ने

काठमाडौं – एभरेस्ट प्रिमियर लिग (इपिएल) प्रालिले प्रतियोगिताको यस संस्करणकोे ट्रफी सार्वजनिक गरेको छ। बिहीबार प्रतियोगितामा सहभागी ६ वटै फ्रेन्चाइज टोलीका कप्तान र मालिक उपस्थित एक कार्यक्रमबीच इपिएल प्रालिका प्रबन्ध निर्देशक आमिर अख्तर र साबिक विजेता विराटनगर वारियर्सका मालिक विजय अग्रवालले इपिएल –२०१८ को ट्रफी सार्वजनिक गरेका हुन्।

प्रतियोगितामा अघिल्लो संस्करणकै टिम काठमाडौं किङ्स एक्सआई, ललितपुर प्याट्रियोट्स, विराटनगर वारियर्स, भैरहवा ग्लाडियटर्स, चितवन टाइगर्स र पोखरा राइनोजको सहभागिता रहनेछ। विराटनगरले भैरहवालाई पराजित गर्दै गत संस्करणको उपाधि जितको थियो।

जसअन्तर्गत विराटनगरको कप्तानी राष्ट्रिय टोलीका कप्तान पारस खड्काले गर्नेछन् भने ललितपुरको कप्तानी ज्ञानेन्द्र मल्लले गर्नेछन्। त्यस्तै चितवनको कप्तानी पृथु बास्कोटाले गर्दा सोमपाल कामीले काठमाडौंको, पोखराको कप्तानी स्कटल्यान्डका कप्तान केल कोज्तरले गर्नेछन्। शरद्  भेषावकरले भैरहवाको कप्तानी गर्नेछन्।

शनिबारबाट सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा साबिक विजेता विराटनगर वारियर्सले ललितपुर प्याट्रियोट्सको सामना गर्ने भएको छ। दोस्रो दिनको पहिलो खेलमा ललितपुरले चितवन टाइगर्सको सामना गर्नेछ भने दोस्रो खेलमा भैरहवा ग्लाडियटर्सले पोखरा राइनोजको सामना गर्नेछ।

पुस ६ गतेसम्म सञ्चालन हुने प्रतियोगिता राउन्ड रोबिन लिग प्रणालीमा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सञ्चालन हुनेछ। प्रतियोगिताको शीर्ष स्थानमा रहने टोली क्वालिफायरमा प्रवेश गर्नेछन्। जसको विजेता फाइनल प्रवेश गर्नेछ भने पराजित टोलीले फाइनल प्रवेशका लागि तेस्रो र चौथो स्थानको टोलीबीच हुने इलिमिनेटरको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

कार्यक्रममा बोल्दै अख्तरले यसै संस्करणबाट इपिएल ट्रफीलाई विभिन्न ६ सहरको भ्रमण गराइने बताए। ‘यस  संस्करणमा नाम चलेका विदेशी खेलाडीले सहभागिता जनाउनेछन्,’ अख्तरले भने, ‘हाम्रो योजना इपिएललाई नेपालकै सर्वाधिक ठूलो फ्रेन्चाइज लिग बनाउने छ।’

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *