शिक्षा, स्वास्थ्य र रोजगारीको जिम्मा अब सरकारले लिन्छ: प्रचण्ड

काठमाडौं–  सत्तारुढ नेकपा अध्यक्ष प्रचण्डले आर्थिक अवस्था कमजोर भएकै कारण स्वास्थ्य उपचार नपाएमा र आफूले चाहेको विषय पढ्न नसकेमा सरकारविरुद्ध कानुनी लडाइँ लड्न सकिने बताएका छन् ।

संविधानले नै शिक्षा र स्वास्थ्यलाई मौलिक हकको रुपमा व्यवस्था गरेको र त्यससम्बन्धी ऐनसमेत बनेको जानकारी गराउँदै प्रचण्डले सबै नेपाली नागरिकको शिक्षा, स्वास्थ्य र रोजगारीको जिम्मेवारी अब सरकारले लिने बताए ।

वंशाणुगत रोगसँग सम्बन्धित पहिलो सम्मेलनलाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले भने, ‘अब कोही मान्छेले उपचारको अभावले दुःख पायो भने उसले अदालतमा मुद्दा दिन पाउँछ र अदालतले त्यो बिरामीको पक्षमा फैसला गर्नैपर्छ । किनकी संवैधानिक व्यवस्थाको कारणले त्यो अधिकार जनताले प्राप्त गरेको छ ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले संवैधानिक यो व्यवस्थालाई ठूलो उपलब्धीको रुपमा ब्याख्या गरे । संविधानमा गरिएको यस्ता व्यवस्थाले राजनीतिक नेताहरुलाई सन्तोष गर्ने र गौरव गर्नलायक बनाएको उनले बताए ।

‘यो सानो कुरा चाहिँ होइन’ प्रचण्डले भने, ‘गरिबीको कारणले, पैसाको अभावले मैले पढ्न पाइनँ, म पढ्न चाहन्छु, यो विषयमा मेरो रुचि छ भनेर मुद्दा दियो भने राज्यले उसको व्यवस्था गरिदिनु पर्दछ । उसलाई पढाउनैपर्छ ।’

‘जनचेतनाको अभावले कति मान्छे अदालत जान्छन् जाँदैनन् भन्ने त समयको कुरा मात्र हो,’ प्रचण्डले भने, ‘बिस्तारै जनचेतना फैलिँदै जान्छ र अधिकारप्रति सचेत भइसकेपछि मान्छेले त्यसलाई पाउनका लागि पहलकदमी लिन्छ । यस अर्थमा राजनीतिक नेतृत्वले सन्तोष पाउने, थोरै गौरव गर्ने ठाउँ छ ।’

प्रतिपक्षसँग मिलेर समृद्धिको अभियान

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले राजनीतिक संघर्ष सकिएकाले अब सत्तापक्ष र प्रतिपक्ष मिलेर विकास समृद्धिको अभियान चलाउनु पर्ने बताए । उनले भने, ‘मेरो अपिल के छ भने सत्ता पक्ष र प्रतिपक्ष मिलेर नै विकास निर्माण र समृद्धिको अभियान चलाउनु पर्छ । आज यो ऐतिहासिक अपरच्युनिटी हामीलाई छ ।’

सरकारका साना कमजोरीलाई समातेर कतिपयले पुरानै व्यवस्था राम्रो थियो भन्ने गरे पनि वास्तवमा त्यस्तो नभएको बताए । १० वर्षे सशस्त्र युद्धको नेतृत्व गरेर शान्तिपूर्ण राजनीतिमा आएका प्रचण्डले भने, ‘दिनदिनै सयौंको संख्यामा मान्छेहरु मारिने, हिँड्न पनि नसिकने, आफ्नै देश घुम्न जान पनि नपाइने अवस्थाबाट गुजि्रएर यो ठाउँसम्म आइपुगेका छौं र हामी पुरानो ठाउँमा फेरि फर्किएर जाने हुन सक्दैन ।’

कार्यक्रममा प्रचण्डले भारत र चीनसँग रेलमार्ग तथा बन्दरगाह प्रयोग सम्बन्धी सम्झौतालाई वर्तमान सरकारका ठूला उपलब्धीको रुपमा चर्चा गरेका थिए ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *