आयल निगमको प्रमुखमा कोको छन् आकांक्षी ?

काठमाडौ –  आयल निगमको प्रवन्ध निर्देशक हत्याउन संस्थानका पुर्वमहाप्रन्धक , बहालवाला  कर्मचारी देखि विभिन्न विवादित छविका व्यक्तिले पनि इच्छा देखाएका छन् । केही दाबेदारहरु नयाँ र केही राम्रा छविका समेत छन् ।

निगमको नेतृत्व गर्न नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक मुकेशकुमार काफ्लेले पनि आवेदन दिएका छन् । विद्युत प्राधिकरणमा काफ्लेको नेतृत्व रहेका बेला देशलाई लोडसेडिङबाट जर्जर बनाइएको थियो । प्राधिकरणमा भ्रष्टाचार चरम उत्कर्षमा पुगेको थियो ।

तिहारमा लोडसेडिङ हट्ने घोषणा हुँदा फागुनमा लोडसेडिङ नदोहोरिए कुबै सार्वजनिक पद धारण नगर्ने घोषणा गरेका काफ्ले अहिले फेरि सार्वजनिक संस्थानको नेतृत्व गर्ने इच्छा देखाउँदै दौडधुपमा छन् ।सरकारले काफ्लेलाई विद्युत प्राधिकरणबाट हटाएर कुलमान घिसिङलाई कार्यकारी बनाएलगत्तै काठमाडौं लोडसेडिङ मुक्त भएको थियो ।

‘अँध्यारो बेचेको’ आरोप लागेका उनै काफ्ले अहिले आयल निगमको हाकिम बन्नका लागि आपूर्तिमन्त्री मात्रिका यादवसम्म लाइन मिलाउन लागिपरेको स्रोत बताउँछ ।

विवादित छविका काफ्लेलाई केही माओवादी नेताहरुकै साथ रहेकाले उनको नाम सिफारिस हुने सम्भावना बलियो रहेको आपूर्ति मन्त्रालय स्रोतको दाबी छ ।

त्यसैगरी खाद्य संस्थानका पूर्वमहाप्रवन्धक शिवहरि श्रेष्ठले पनि आवेदन दिएका छन् । उनी खाद्य संस्थानमा प्रमुख हुँदा विभिन्न किसिमका विवादमा तानिएका थिए ।

सिक्टा सिँचाइ आयोजनाका पूर्व प्रमुख इन्जिनियर रमेश बस्नेतले पनि आयल निगममा आउन चाहेका छन् । उनी पनि सिक्टा सिचाँइको नहरमा भएको ठूलो अनियमितता र लापरवाही प्रकरणमा मुछिएका पात्र हुन् । हाल उनी बाग्मती सिँचाई आयोजनामा कार्यरत छन् । उनी प्रचण्ड परिवारका निकट मानिएको हुनाले बलिया दाबेदार हुन् ।

उदयपुर सिमेन्टका महाप्रबन्धक सुरेन्द्र पौडेल पनि निगममा नेतृत्वका आकांक्षी हुन् । उनी एमाले नेता महेश बस्नेतको निकट मानिन्छन् । उदयपुर सिमेन्टमा सुधारका काम गरेको र पूर्वएमाले निकट भएकाले पौडेल पनि बलिया दाबेदार मानिएका छन् ।

त्यस्तै वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका पूर्वकार्यकारी निर्देशक रामप्रसाद धिताल पनि आयल निगमको कार्यकारी बन्ने दौडमा सामेल भएका छन् । उनी केन्द्रमा रहँदा विदेशी दातृ निकायले दिएको अनुदान रकम सदुपयोग गर्न असफल भएको आरोप लाग्ने गरेको थियो ।

कम्पनी गरीब भए पनि कर्मचारीहरु धनी बन्ने गरेको आयल निगममा नेतृत्व गर्न निगमकै कर्मचारी प्रलयङ्कर आचार्यले पनि इच्छा देखाएका छन् । उनीभन्दा उच्च तहका निर्देशकहरुले इच्छा नदेखाए पनि निगमभित्रबाटै प्रवन्ध निर्देशकको दाबी गर्ने उनी एक्ला उम्मेदवार हुन् ।

निगमको नेतृत्व हत्याउन आवेदन दिनेहरुमा मगलाल श्रेष्ठ, अनिलकुमार झा, लोकबहादुर खड्का, शिवराम यादव, अच्युतराज पहाडी, तारानाथ पौडेल, तारक थापा, अनन्तराज घिमिरे, सरोज कोइराला, गोविन्दप्रसाद खरेल र गोवर्द्धन खड्का क्षेत्रीसमेत छन् ।

अनिलकुमार झा डोलिडारका पूर्वमहानिर्देशक हुन् । उनले जनक शिक्षा सामग्री केन्द्रको प्रबन्ध सञ्चालकका रुपमा काम गरे पनि त्यहाँ सुधारको काममा उनी चुकेका थिए । विगतमा उनीमाथि जनक शिक्षालाई आर्थिक नोक्सानी पुर्‍याएको आरोप लागेको थियो ।

गोबर्द्धन खड्का र अच्युतराज पहाडी वायुसेवा निगमसँग आवद्ध छन् । वायु सेवा निगमको इञ्जिनियरिङ डिपार्टमा काम गर्दा विमानका पार्टपूर्जा बेचेको आरोपमा पहाडीलाई शाहीकालमा प्रहरीले गिरफ्तार गरेर केही दिन सिंहदरबार प्रहरी परिसरमा राखेको थियो ।

आवेदक मध्येका गोविन्द खरेल उद्योग विभागका पूर्वइञ्जिनियर हुन् । उनी विज्ञान प्रविधि मन्त्रालय हुँदै हाल भौतिक पूर्वाधार मन्त्रालयमा सिनियर डिभिजनल इन्जिनियरका कार्यरत छन् ।

अर्का आवेदक सरोज कोइराला नेपालमा प्रत्यक्ष वैदेशिक लगानी  का विषयमा विद्यावारिधि गर्ने व्यक्ति हुन् । पहिले पनि निगममा प्रतिस्पर्धा गरेर दोस्रो नम्बरमा परेका लोकबहादुर खड्का यसअघि स्वरोजगार कोषमा कार्यरत थिए ।

निगमको प्रवन्ध निर्देशक बन्न अर्थशास्त्र वा वाणिज्यशास्त्र, व्यवस्थापन, इन्जिनियरिङ विषयमा कम्तिमा पनि स्नातकोत्तर गरेकाले मात्रै पाउँछन् । व्यवस्थापनमा स्नातक गरेर चार्टर्ड एकाउन्टेन्ट गरेको वा सरकारी सेवाको अधिकृतस्तरमा रहेर कम्तिमा पनि ५ वर्षको कार्यानुभव भएकाले पनि यो प्रतिस्पर्धामा भाग लिन सक्ने व्यवस्था छ ।

निगमको कार्यकारी निर्देशक बन्न ३० वर्ष पूरा भएर ६५ वर्ष ननाघेको हुनु पर्ने प्रावधान छ । प्रतिस्पर्धामा भाग लिनेले ५ हजार शब्द नबढ्ने गरी निगमका लागि आफ्नो व्यावसायिक योजना र कम्तिमा दुईवटा ‘केश स्टडी’ पनि दरखास्तसँगै सामेल गर्नुपर्ने गरी दरखास्त मागिएको थियो ।

राजनीतिक नेतृत्वकै चाहाना नै अन्तिम हुने भएकाले आकांक्षीहरु भने राजनीतिक लबिङमा लागीरहेको स्रोत बताउँछ ।

About राजेश दुलाल

View all posts by राजेश दुलाल →

Leave a Reply

Your email address will not be published. Required fields are marked *