नेकपा प्रदेश कमिटी: पुर्व-एमाले र पुर्व-माओवादी बीच ५३/४६ को भागबन्डा

काठमाडौं:  पूर्वनेकपा एमाले र पूर्वमाओवादीवीच करिब ५३/४६ प्रतिशतको भागवण्डा मिल्ने गरी नेकपाले सातवटै प्रदेश कमिटीहरुको टुंगो लगाएको छ । करिब ०.२१ प्रतिशत सदस्य अन्य दलबाट लिइएका छन् ।

मंसिर १२ मा बसेको नेकपा सचिवालय बैठकले साविक एमाले र माओवादी केन्द्रबीच भागबन्डा गरेर आइतबार अन्तिम नामावली सार्वजनिक गरेको हो ।

सातवटा प्रदेशमा कुल १३९० जना नेताहरुले प्रदेश कमिटीको जिम्मेवारी पाएका छन् । यीमध्ये ७३९ जना पूर्वएमालेबाट परेका छन् भने ६४८ जना पूर्वमाओवादीबाट प्रदेश कमिटीमा परेका छन् ।

पार्टी एकता घोषणा भएको करिब १५ महिनापछि नेकपाले प्रदेश कमिटीहरुको टुंगो लगाएको हो । यसवीचमा पूर्वमाओवादीले ५०/५० प्रतिशतको भागवण्डा हुनुपर्ने माग गर्दै आएको थियो भने पूर्वएमालेका नेताहरु ६०/४० को पक्षमा थिए ।

अन्ततः प्रदेश कमिटीको टुंगो लगाउँदा सातै प्रदेशको कुल संख्यामध्ये पूर्वएमालेको भागमा करिब ५३ प्रतिशत परेको छ भने पूर्वमाओवादीबाट ४६ प्रतिशतको हाराहारी सदस्य छानिएका छन् ।

प्रदेश नम्बर २ मा भने पूर्वएमाले र पूर्वमाओवादीबाट ५०/५० प्रतिशत सदस्यको भागवण्डा मिलेको छ । प्रदेश २ मा तीन जनालाई अन्य पार्टीबाट ल्याइएको छ । सप्तरीका मोहमद स्लाम र भरत महतो प्रदेश नम्बर २ मा सदस्य चयन भएका छन् । नेकपामा प्रवेश गर्नुअघि स्लाम देशभक्त पार्टी र महतो राष्ट्रिय जनता दल (पिछडा वर्ग) का अध्यक्ष थिए ।

पूर्वमाओवादीको बाहुल्य रहेको कर्णाली प्रदेशमा भने पूर्वएमाले भन्दा पूर्वमाओवादीबाट एकजना बढी सदस्य प्रदेश कमिटीमा परेका छन् । यो प्रदेशबाट एमालेका ८७ र माओवादीका ८८ जना सदस्यहरु छनोटमा परेका छन् ।

नेतृत्वको हिसाबले हेर्दा पूर्वमाओवादीबाट प्रदेश कमिटीमा पर्नेहरुमा बढीजसो पूर्व केन्द्रीय सदस्यहरु छन् । एमालेले भने अञ्चल कमिटीमा रहेकाहरुलाई बढ्ता समेटेको छ । विभिन्न पार्टीबाट नेकपामा प्रवेश गरेका नेता, कार्यकर्ताले पनि प्रदेश कमिटीमा अवसर पाएका छन् । १३९० सदस्य रहेको सातवटा प्रदेश कमिटीमा ‘प्रतिष्ठित’ व्यक्तिदेखि साना पार्टीका केन्द्रीय अध्यक्षसम्म अटेका छन् ।

नेकपा माले, नयाँ शक्ति पार्टी, फोरम लोकतान्त्रिक, राप्रपा, राजपा, संघीय समाजवादी फोरमका केन्दीय सदस्यहरू पनि नेकपा प्रदेश कमिटी सदस्य बनेका छन् ।

अब जिल्ला र जनवर्गीय संगठनको एकता टुंगो लाग्छ

प्रदेश कमिटीहरुको एकीकरणका क्रममा कुनै पनि विवाद नआएको नेकपाका महासचिव विष्णु पौडेलले अनलाइनखबरलाई बताए । ‘नेकपाभित्र मारामार छ भनेर बाहिर चर्चा थियो, तर विवाद केही पनि भएन,’ महासचिव पौडेलले भने,’धेरै प्रदेशमा धेरै नेताहरुलाई समेट्नुपर्ने भएकाले समय लागेको मात्र हो ।’

महासचिव पौडेलले अब जिल्लाका अध्यक्ष र सचिवहरुको टुंगो लगाउनेवित्तिकै स्थानीय तहको एकता प्रक्रिया सम्पन्न हुने बताए । अधिकांश जिल्लाहरुले तलको एकता प्रक्रिया टुंग्याइसकेको उनले बताए । गाउँ र नगर कमिटीहरुको एकता प्रक्रिया टुंगो लगाउन प्रदेश कमिटीका पदाधिकारीहरुलाई निर्देशन दिइसकेको उनले बताए ।

केन्द्रबाट जिल्लाका पदाधिकारीहरुको एकता टुंग्याएपछि भौगोलिक कमिटीहरुको एकता पूर्ण हुने र त्यसपछि जनवर्गीय संगठनहरु र केन्द्रीय विभागहरुको एकता टुंग्याइने पौडेलले अनलाइनखबरलाई बताए ।

‘एसिया प्यासिफिक’को लफडा

यसैवीच नेकपाको अर्को सचिवालय बैठक केही दिनमै बस्ने तयारी भइरहेको अर्का एक नेताले अनलाइनखबरलाई बताए । सो बैठकमा विवादित एसिया प्यासिफिक सम्मेलनका विषयमा पनि कुरा उठ्ने ती नेताले जानकारी दिए ।

क्रिश्चियन धर्म प्रचारकको सम्मेलनमा सरकारको सहभागितालाई लिएर नेकपाभित्र विवाद चर्किएको छ । सम्मेलनमा सरकारको संलग्नतालाई लिएर बरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठका साथै केन्द्रीय नेताहरु भीम रावल, घनश्याम भुसाललगायतले आपत्ति जनाउँदै आएका छन् ।

अध्यक्ष प्रचण्ड एसिया प्यासिफिक सम्मेलनबारे मझधारमा छन् भने प्रधानमन्त्री केपी ओली र बरिष्ठ नेता माधवकुमार नेपाल सम्मेलनका पक्षधर हुन् ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *