प्रधानमन्त्रीको पोस्टर प्रती काङ्ग्रेसको व्यंग्य- चौतारीमा राजा भेटिए

काठमाडौं:  प्रमुख विपक्षी नेपाली कांग्रेसले सामाजिक सुरक्षा योजना कार्यान्वयनमा आउनु सुखद भएको बताएको छ । तर, सरकारले भड्किलो प्रचार शैली अपनाउनुका साथै भ्रम छर्ने काम गरेको भन्दै विरोध गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारकै पालामा योगदानमा आधारित समाजिक सुरक्षा ऐन संसदबाट पास भएर राष्ट्रपतिबाट प्रमाणित भएको स्मरण गर्दै कांग्रेसले सफल कार्यान्वयनका लागि शुभकामना दिएको छ ।

तर, सरकारले आफ्नै नयाँ कार्यक्रमझैं गरेर भ्रम छरेको र प्रधानमन्त्रीको तस्वीर सजाएर पार्टीगत प्रचार शैली अपनाएको भन्दै उसले आपत्ति जनाएको छ । कांग्रेसको केन्द्रीय कार्यसमितिले पारित गरेको प्रस्तावमा भनिएको छ, ‘यसको सफलता भड्किलो शैलीको झुटो प्रचारले होइन, परिपक्व र जिम्मेवार ढंगको व्यवस्थापकीय कुशलताबाट सम्भव हुने व्यवहारिक यथार्थप्रति नेपाली कांग्रेस नेपाल सरकारलाई सचेत गराउन चाहन्छ ।’

सरकारले नयाँ युग भनेको तर्फ इंगित गर्दै कांग्रेसले ऐन संसदबाट पारित भएको दिन, राष्ट्रपतिबाट प्रमाणित भएको दिन वा तामझाम गरिएको मंसिर ११ वा कार्यान्वयनमा आउने २०७६ साउन १ कुन नयाँ युग हो भनेर प्रश्न गरेको छ । नयाँ युगको संज्ञा सरकारको बढ्दो अलोकप्रियता ढाक्न खोजिएको पातलो पछ्यौरी मात्र भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

उनले भनेका छन्, ‘श्रमिकको हितका लागि ल्याइएको कार्यक्रमको प्रचार नै गर्नु पर्दा श्रमिकको तस्वीर कहीँ प्रयोगमा नल्याइनु तर, पार्टीगत चुनावी प्रचारमा जस्तै गरेर प्रधानमन्त्री तस्वीरलाई ‘चौतारीमा राजा भेटिए’ शैलीमा यत्रतत्र–सर्वत्र टास्नुले नयाँ युग होइन, पुरानो युगको सम्झना गरायो ।’

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *