निर्मलाको न्यायका लागि देउडा गित

चौरीलै चरना हनकी, भुइसा चरन्या वन।
यो देश फेरिन्या हैन, कुर्सी छाडौ पन।।
किरमडी पाकेकी ठौर, ऐसुल पाकन्ना।
निर्मला हत्याका कुरा, संसार चलिर्यान।।
बैतडीका महिलाले देउडामार्फत निर्मलाका हत्यारालाई पक्राउ गरी कारबाही गर्नुपर्ने माग गरेका छन्। लैगिंक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत पाटनमा महिलाले देउडामार्फत निर्मलालाई न्यायको माग गरेका हुन्।

विभिन्न सहकारी र समूहमा आबद्ध महिलाले सामूहिक रुपमा देउडा गीतमार्फत् निर्मलाको हत्यारालाई कारबाही माग गरेका हुन्। लैगिंक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत पाटनमा भएको प्रतियोगितात्मक देउडा कार्यक्रममा सहभागीले निर्मलालाई न्याय दिन सरकारलाई आग्रह गरे।

कार्यक्रममा सहभागी सामाजिक कार्यकर्ता लोकेन्द्रप्रसाद पन्तले भने, ‘देउडा कार्यक्रममा सहभागी महिलाले निर्मलाको हत्यारा पत्ता लगाउन सरकार उदासिन रहेको भन्दै गीतका शब्दबाट हत्यारा पत्ता लगाउन आग्रह गरे।’

नारामा लेखेर मात्रै महिलामाथि हुने हिंसाको अन्त्य नहुने भन्दै महिलाले बनेका कानुन कार्यान्वयनका लागि देउडा गाउँदै आग्रह गरेका हुन्। प्रतियोगितामा सहभागी महिलाले निर्मलाको न्यायका लागि सरकारले ध्यान दिन आग्रह गरेको संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले बताए। उनले भने ‘देउडा कार्यक्रममा सहभागी महिलाले महिलामाथि हुने हिंसा कम गर्नका लागि घरपरिवारबाटै सुरुवात गर्न आग्रह गरे।’

महिलामाथि हुने हिंसा कम गर्नका लागि गाउँगाउँबाट महिला जाग्नुपर्ने महिला समूहकी अध्यक्ष डम्मरी भट्टले बताइन्। उनले भनिन् ‘हामीले समाजमा विभिन्न खालका सचेतनामूलक कार्यक्रम सञ्चालन गरेर महिलामाथि हुने हिंसा अन्त्यका लागि पहल गर्नुपर्छ।’

निर्मलाको हत्या भएको चार महिना बितिसके पनि सरकारले हत्यारा पत्ता नलगाएकाले आफूहरुले देउडा गीतमार्फत् हत्यारा पत्ता लगाउन सरकारको ध्यानाकर्षण गराएको उदयदेव महिला समूहका अध्यक्ष सरस्वती जोशीले बताइन्। उनले भनिन् ‘हामीले गीतमार्फत् निर्मलाका हत्यारा पत्ता लगाउन सरकारलाई दबाब दिएका छौं।’

डेउडा कार्यक्रममा पाटन नगरपालिका भित्रका विभिन्न ६ महिला समूहको सहभागिता रहेको थियो। उनीहरुले विभिन्न भाकामा देउडा गाउँदै निर्मलाका हत्यारालाई छिटो पत्ता लगाई कानुनी राज्यको उदाहरण दिनुपर्ने माग गरेका छन्।

‘हामीले निर्मला पन्तका हत्यारालाई कारबाहीको माग गरेका छौं। देउडा गीतका शब्दमार्फत् हामीले सरकारको ध्यानाकर्षण गराएका हौं’, अनिरुद्र महिला समूहका अध्यक्ष माया अवस्थीले भनिन्, ‘सरकारले निर्मलाको न्यायका लागि लाग्नै पर्दछ। न्याय मरेको देशको रुपमा हैन न्याय दिने देशको रुपमा चिनाउनुपर्छ।’

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *