राप्रपा एकता: भ्यागुतोको धार्नी

काठमाडौं : राप्रपाको एकता प्रक्रिया अन्तिम समयमा फेरि टरेको छ। सोमबार औपचारिक एकता घोषणा गर्ने गरी कार्यक्रम स्थलसमेत तय भइसकेको थियो। तर आइतबार राप्रपा अध्यक्ष कमल थापा र राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शम्शेर राणाबीचको छलफलमा नयाँ विवादले प्रवेश पाएपछि एकता प्रयास फेरि टरेको हो।

थापा नेतृत्वको राप्रपा, राणा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक) र डा प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा राष्ट्रवादीबीच पटक–पटक एकता प्रयासका लागि छलफल चलेको थियो।

दसैँ अगाडिदेखि तीन पार्टीले चरणवद्ध छलफल गर्दै आएका थिए। त्यही छलफलका आधारमा सोमबार एकता घोषणा कार्यक्रम तय भएको थियो।

आइतबार पार्टी एकता अनुमोदनका लागि थापा नेतृत्वको राप्रपाले पार्टी केन्द्रीय समितिको बैठक बोलाएको थियो। अध्यक्ष थापाले पार्टी बैठकमा एकताको मोडालिटीलगायतका विषयमा बिफ्रिङ गरिहदा राप्रपा प्रजातान्त्रिकका अध्यक्ष राणाले फोन गरी भेट्ने प्रस्ताव गरेका थिए।

दुई नेताबीच महाराजगन्जस्थित एक होटलमा छलफल भएको थियो।  छलफलमा चुनाव चिन्हको नयाँ विषयले विवाद ल्याएपछि राप्रपा एकता तत्काल टरेको राप्रपाका नेताले बताएका छन्। ‘एकता तत्कालका लागि टर्‍यो,’ राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले भने।

एकताका लागि तीन पार्टीबीचमा संवैधानिक राजसंस्था मानेर जाने सैद्धान्तिक सहमति भएको थियो। त्यस्तै, एकतापछिको केन्द्रीय समितिको संरचनादेखि भागवन्डासम्म टुंगिसकेको थियो। तर आइतबारको थापा–राणा छलफलमा संवैधानिक राजसंस्था र चुनाव चिन्हको विषयमा विवाद भएपछि एकता टरेको हो।

‘सैद्धान्तिक विषयमा अझ छलफल पुगेन, संवैधानिक राजसंस्था अहिले मान्न सकिने अवस्था आएन, चुनाव चिन्हमा पनि छलफल आवश्यक रहयो, थप दुई हप्ता समय लिएर छलफल गरौं भन्ने भएको छ,’ राप्रपा प्रजातान्त्रिकका एक नेताले भने।

यता राप्रपाका नेताले भने टुंगिसकेको एकता प्रक्रियामा राप्रपा प्रजातान्त्रिकले एकता टारेको आरोप लगाए। ‘टुंगिसकेको एकता प्रक्रियामा उहाँ (राणापक्षबाट) नयाँ विषय प्रवेश गराएर बिथोलियो’, एक नेताले भने, ‘उहाँहरुमा इमान्दारिता नदेखिँदा एकता प्रयास अहिले अवरुद्ध भयो।’

तत्कालका लागि अन्तरिम विधानको रुपमा राप्रपाको विधानलाई प्रयोग गर्ने, तीन पार्टीको विधान समायोजन गरी महाधिवशेनबाट कार्यान्वयनमा लैजाने जस्ता सहमति पनि एकता प्रक्रियाका क्रममा जुटिसकेको थियो। राप्रपा प्रचार विभाग प्रमुख श्रेष्ठले अन्तिम समयमा एकता टरेकोमा चिन्ता व्यक्त गरे।

‘देशभरका लाखौं कार्यकर्ताको चाहना अनुसार लामो समयको प्रयासपछि एकता प्रक्रिया अगाडि बढेको थियो, तर अन्तिम समयमा प्रक्रिया टरेपछी राप्रपाको एकता जिउँदो भ्यागुतोको धार्नी पुर्याउन जस्तै भएको छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *