विद्युतिय बस काठमाडौमा चार्जिङ स्टेशन लुम्बिनीमा

काठमाडौ– लुम्बिनी घुम्न आउने पर्यटकलाई लक्षित गरी नेपाल सरकारले प्रदुषणमुक्त बस सेवा सञ्चालन गर्न चाहेको धेरै वर्ष भयो। तर अहिलेसम्म पुरा हुन सकेको छैन।

सरकारी चाहना पूरा नभए पनि एसियाली विकास बैंक मातहतको एसियन क्लिन इनर्जीले लुम्बिनी विकास कोषसँगको सहकार्यमा पर्यटक लक्षित ५ वटा विद्युतीय बस र ११ वटा कार सहयोग गर्ने निर्णय गर्‍यो।

सोहि निर्णय अनुसार एडिबीले लुम्बिनीका लागि पहिलो चरणमा २ वटा बस पठायो। लुम्बिनीमा केही भए पनि प्रदुषण कम गर्ने र यहाँ आउने पर्यटकलाई स्तरीय वातानुकुलित सुविधा दिने उद्देश्यले एडिबीले बस दिएको थियो।

तर, लुम्बिनी ल्याउनुको सट्टा बेलहियादेखि ट्रकमा राखेर काठमाडौं लगिएपछि चौतर्फी विरोध सुरू भएको छ।

लुम्बिनीका लागि करिब दुई करोड मूल्य बराबरका दाताले दिएका बस काठमाडौं पुर्‍याएर साझा यातायातमार्फत् सञ्चालनमा ल्याएपछि लुम्बिनी क्षेत्रका पर्यटन व्यवसायी र स्थानीय आक्रोसित भएका हुन्।

लुम्बिनीको लागि भनेर दाताले दिएको बस समेत काठमाडौं लैजानुले सरकार लुम्बिनीप्रति जिम्मेवार नरहेको पुष्टि भएको पर्यटन व्यवसायी लिलामणि शर्माले बताए। उनले सरकारले तत्काल ती बस लुम्बिनीमै फिर्ता गर्नुपर्ने बताए।

लुम्बिनीका स्थानीय शत्रुधन तिवारीले सरकारले ती बस फिर्ता नपठाए आन्दोलनमा उत्रिने चेतावनी दिए। दिनप्रतिदिन बढ्दै गएको धूलोधूँवाको कारण लुम्बिनीमा प्रदुषण बढिरहेको बेला सरकार आफैंले पर्यटकहरूका लागि सुविधा सम्पन्न बस सञ्चालन गर्नुपर्नेमा दाताले दिएका बस समेत लैजानु अत्यन्त लाजमर्दो कार्य भएको उनले बताए।

एडिबीले लुम्बिनी विकास कोषसँग ९ जनवरी २०१८ मा विद्युतीय बस र कार दिने सम्झौता गरेको थियो। लुम्बिनीका लागि ल्याइएको विद्युतीय बस गत मंगलबार काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए।

निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट बुद्धजन्मस्थल लुम्बिनीसम्म सञ्चालन हुने गरी प्रदुषणरहित सवारी सञ्चालन गर्ने भनिए पनि सरकारी लापरबाहीले बस एकाएक काठमाडौं पुर्याइएको हो ।

लुम्बिनी विकास कोषले भने गौतमबुद्ध विमानस्थल सञ्चालन आएलगत्तै बस पुनः लुम्बिनी क्षेत्रमा सञ्चालन गर्ने दाबी गरेको छ। विकास कोषका निमित्त सदस्य सचिव सरोज भट्टराईले लुम्बिनीमा आउने पर्यटकहरूलाई सेवा दिनकै लागि बसहरू ल्याइएकोले अन्तर्राष्टिय विमानस्थल निर्माण हुँदासम्म बस ल्याउने बताए ।

एकाएक काठमाडौं पुर्‍याएर बस उद्घाटन गरिए पनि बस चार्जिङको लागि स्टेशन भने लुम्बिनीमै निर्माण भइरहेको छ। लुम्बिनीको संग्रहालय नजिकै करिब १२ करोडको लागतमा बस चार्जिङका लागि स्टेशन बनिरहेको छ।

जापानस्थित ईशाका कम्पनीले  चालू वर्षको अन्तिमसम्म काम सम्पन्न गर्नेगरी  ३ महिना अगाडि बस चार्जिङ स्टेशन निर्माणको लागि ठेक्का पाएको थियो ।

पहिलो चरणमा आएका दुइटा बस काठमाडौं पुर्‍याइएको छ भने ३ वटा बस र ११ वटा कार आउन बाँकी छन्। एडिबीले प्रदान गर्ने सबै बस र कार विद्युतीय हुन्।

चाइनाको बिआइबी कम्पनीले निर्माण गरेको २० सिट रहेका बस एकपटक चार्ज गरेपछि ४ सय किलोमिटरसम्म गुड्न सक्ने छन्। बस, कार र स्टेशन गरी एडिबीले करिब २७ करोड रकम सहयोग उपलब्ध गराएको कोषका निमित्त सदस्यसचिव भट्टराईले जानकारी दिए ।

लुम्बिनीमा अहिले पुराना बस र जीप सञ्चालनमा छन् । जसको कारण सार्वजनिक सवारी साधन प्रयोग गर्ने पर्यटकहरू पुराना बसमा धकेलाधकेल गरेर यात्रा गर्न बाध्य छन् ।

लुम्बिनी करिडोरमा रहेका दर्जनौ सिमेन्ट, छड, इट्टा र पेपर मिल्सबाट निस्कने धूलोधूँवाका कारण लुम्बिनी क्षेत्रको वायुलाई अत्यन्तै प्रदुषित बनाएको अनुसन्धान प्रतिवेदनले देखाएको थियो ।

जर्मनीमा रहेका डा.महेश्वर रुपाखेतीसहितको वैज्ञानिक टोलीले अनुसन्धान गरी गत वर्ष नै सरकारलाई लुम्बिनी क्षेत्रको वातावरणीय प्रदुषणको बारेमा जानकारी दिएको थियो ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *