प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याइदै

कात्तिक ९,काठमाडौं।सरकारले बेरोजगार र विपन्न युवालाई समेट्ने गरी आगामी महिनादेखि ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ एकैपटक देशभर सञ्चालनमा ल्याउने तयारी गरेको छ।

७ सय ५३ वटै स्थानीय निकायमा रोजगार सेवा केन्द्र स्थापना गरेर कार्यक्रम सञ्चालनमा ल्याउन तयारी भइरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।

सरकारले कार्यक्रममार्फत इतिहासमै पहिलो पटक बेरोजगारी युवालाई आन्तरिक श्रम बजारमा रोजगारीको ग्यारेन्टी गर्ने लक्ष्य लिएको मन्त्रालयका प्रधानमन्त्री रोजगार कार्यक्रम शाखाका प्रमुख सहसचिव प्रकाश दाहालले जानकारी दिएका छन्।

सरकारले नै बेरोजगार युवालाई खोजेर कम्तीमा १ सय २० दिनको रोजगारी दिने र रोजगारी दिन नसकेको खण्डमा तीन महिना निर्वाह भत्ताको व्यवस्था गर्ने सहसचिव दाहालले बताए।

उनले भने, ‘सरकारले रोजगारी खोजिदिनेछ यदि काम दिन नसके सरकारी ढुकुटीबाटै सो अवधि बराबरको न्यूनतम पारिश्रमिकबाट आधा महिनाको निर्वाह भत्ता उपलब्ध गराउने व्यवस्था गर्न लागिएको छ। विपन्न बेरोजगारलाई काम दिलाउन सकिएन भने उसले राज्यबाट नै तलब पाउनेछ।’

कार्यक्रम सञ्चालनका लागि आवश्यक पर्ने खाका र संरचना तयार भइसकेको उनको भनाइ छ। कार्यक्रम सञ्चालनका लागि आवश्यक सबै प्रक्रिया पूरा भइसकेकोले निर्णयका लागि चाँडै मन्त्रिपरिषद् बैठकमा लैजाने दाहालले जानकारी दिएका छन्।

आगामी आर्थिक वर्षदेखि मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई समाजिक सुरक्षा कोष अन्तगर्तको कार्यक्रमसँग जोडेर सञ्चालन ल्याउने विषयमा पनि योजना र छलफल भइरहेको सहसचिव दाहालले जानकारी दिएका छन्।

कार्यक्रमले सरकार, बेरोजगार र रोजगारदातालाई जोड्नेछ। अन्तरमन्त्रालय समन्वय गरेर देशभित्रै विभिन्न ठाउँमा युवालाई रोजगारीको अवसर सिर्जना गर्ने मन्त्रालयको विश्वास छ।

बेरोजगार युवाले आफ्नो स्थानीय तहका रोजगार सूचना केन्द्रमा व्यक्तिगत विवरण पेस गर्नुपर्नेछ। यसरी पेस गरेको विवरणको आधारमा सरकारले रोजगारी खोजिदिनेछ। पुँजीगत खर्चको निश्चित रकम ज्यालामा खर्चिने, श्रमिकको क्षमता विकास निजी क्षेत्रसँग समन्वय गरिने, श्रमको सम्मानसम्बन्धी देशव्यापी अभियान चलाउने र सेवा केन्द्रमार्फत श्रमिकको डिमान्ड संकलन गरिने छ।

About राजेश दुलाल

View all posts by राजेश दुलाल →

Leave a Reply

Your email address will not be published. Required fields are marked *