नेकपा सचिवालय बैठक बस्दै, जनवर्गीय संगठनको एकता टुग्याउने

कात्तिक ७, काठमाडौ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज (बुधबार) बस्दैछ। बैठक आज अपरान्ह ३ बजेका लागि बोलाइएको छ।

बुधबारको बैठकमा प्रदेश र जिल्ला कमिटीलाई पूर्णता दिने विषयमा थप छलफल हुने बताइएको छ। साथै पार्टीका विभाग गठन र जनवर्गीय संगठनको एकता प्रक्रिया टुंग्याउने विषयमा पनि छलफल हुनेछ।

बैठकमा पोलिटव्यूरो सदस्य र संख्याका विषयमा पनि छलफल हुने बताइएको छ। नेपाल समूहको माग सुनुवाइ हुनेगरी महासचिवले नयाँ मापदन्ड तय गरेको बताइएको छ। यद्यपि उक्त मापदन्डका कारण प्रदेश इन्चार्ज, सह इन्चार्ज, अध्यक्ष र सचिवको जिम्मेवारी पाएकाहरु परिवर्तन नहुने संकेत सचिवालयको गत बैठकले दिएको छ।

असोज ५ मा बसेको सचिवालयको बैठकले सातै प्रदेशमा पार्टी नेतृत्व तोकेपछि वरिष्ठ नेता माधवकुमार नेपाल असन्तुष्ट बनेका थिए। पार्टी पद्धतिअनुरुप सञ्चालन नभएको नेपालको गुनासो रहेको थियो। महासचिव विष्णु पौडेललाई लिखित असहमति बुझाएका नेपालको माग सम्बोधनका विषयमा गत सोमबारको बैठकमा छलफल भएको थियो। पार्टी विधि र प्रक्रियासम्मत् नचलेको भन्ने नेपालको आरोपमाथि अन्य सदस्यहरुले पनि साथ दिएपछि अध्यक्ष केपी शर्मा ओलीले आगामी दिनमा पार्टीका कुनै पनि निर्णय गर्दा विधि र पद्धति अनुसार गरिने प्रतिबद्धता जनाएका थिए।

निर्वाचनमा विजयी र सरकारी ओहोदामा रहेकालाई पार्टी कमिटीको मुख्य भूमिका नदिने यसअघिको निर्णय मिचिएको नेपाल समूहको भनाइ थियो। एकपक्षीय रुपमा पार्टी संस्थापन पक्षका नेतालाई पार्टी कमिटीको नेतृत्वमा ल्याइएको उक्त समूहको आरोप छ।

गण्डकी र प्रदेश ५ का मुख्यमन्त्रीलाई पार्टीको प्रदेश कमिटीमा पनि मुख्य भूमिका दिइएकोप्रति नेपाल समूह असन्तुष्ट छ। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल दुवै प्रधानमन्त्री केपी शर्मा ओली निकट हुन्।

पार्टीका निर्णय प्रक्रियामा आफूलाई बेवास्ता गरेको भन्दै नेपालले गम्भीर असहमति प्रकट गर्दै आएका थिए। जिल्ला तहको नेतृत्व चयन गर्ने क्रममा देखिएको विवाद प्रदेश नेतृत्व छनोट गर्ने क्रममा थप सतहमा आएको थियो। प्रदेश ५ का जिल्लाहरुमा देखिएको असन्तुष्टि प्रदेश नेतृत्वमा आइपुग्दा थप झांगिएको थियो।

यसैबीच बुधबारको सचिवालय बैठकमा प्रवक्ता नारायणकाजी श्रेष्ठ र रक्षामन्त्री ईश्वर पोखरेल अनुपस्थित हुने छन्। श्रेष्ठ बुधबार चीन जाँदै छन् भने पोखरेल मंगलबारनै चीन पुगिसकेका छन्।

About राजेश दुलाल

View all posts by राजेश दुलाल →

Leave a Reply

Your email address will not be published. Required fields are marked *