नेपालको परीक्षा सिंगापुरसँग

आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत एसिया छनोटको समूह ‘बी’ मा नेपालले सुरुवाती पाँच खेलमा लगातार जित निकाल्दै दोस्रो चरणमा स्थान पक्का गरिसकेको छ।

मलेसियामा भइरहेको प्रतियोगितामा नेपाल जस्तै सिंगापुरले पनि सुरुवाती पाँचै खेल जितेको छ। नेपालसँगै सिंगापुरले पनि विश्वकप छनोटको दोस्रो चरणमा स्थान बनाइसकेको छ। नेपाल र सिंगापुरको समान १०–१० अंक छ। नेट रनरेटमा भने नेपालले सिंगापुरलाई पछि पारेको छ।

यस्तो अवस्थामा नेपाल र सिंगापुरबीच शुक्रबार मलेसियाको बायुमास ओभलमा मध्याह्न सवा १२ बजे खेल हुँदैछ। लिगको यो अन्तिम खेल फाइनल जस्तै हुनेछ।  किनकी खेल जित्ने टिम आइसिसी विश्व टी–२० एसिया क्षेत्रीय समूह ‘बी’ को च्याम्पियन बन्ने छ।

सुरुवाती पाँच खेलमा नेपाल पाँच वटै प्रतिद्वन्द्वीविरुद्ध हावी बनेको थियो। खासगरी नेपाली बलरले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। पाँचै वटा टिम नेपाली बलरसामू पूरै ओभर टिक्न सकेका छैनन्। नेपालविरुद्ध ५० रन कटाउने एक्लो टिम मलेसिया बन्य बन्यो। नेपालले म्यानमारलाई २९ रन, मलेसियालाई १०० रन, थाइल्यान्डलाई १८ रन, भुटानलाई ३३ रन र चीनलाई २९ रनमै रोकेको थियो। नेपालका सन्दीप लामिछानेले ५ खेलमा २० विकेट लिइसकेका छन्। यस्तै ललितनारायण राजवंशीले पनि ९ विकेट हात पारेका छन्।

बलिङको तुलनामा नेपालले ब्याटिङमा राम्रो खेल्न सकिरहेको छैन। झिनो लक्ष्य पाएपनि नेपाली ब्याट्सम्यानले सस्तैमा आउट हुने गरेका छन्। चीनविरुद्ध बाहेक अन्य खेलमा नेपालका ओपनरले खराब प्रदर्शन गरिरहेका छन्।

म्यानमारविरुद्ध ३० रनको लक्ष्य पछ्याएपनि नेपालका ओपनरद्वय प्रदीप ऐरी शून्य र विनोद भण्डारी १ रनमा आउट भएका थिए। मलेसियाविरुद्ध ओपनिङमा आएका अनिलकुमार साह पनि १ रनमै आउट भएका थिए। अर्का ओपनर विनोद भण्डारीले १२ रन भन्दा बढी जोड्न सकेनन्।

थाइल्यान्डविरुद्धको खेलमा नेपालको ओपनिङ जोडीले २८ रनको साझेदारी गरेको थियो। सो खेलमा नेपालका ४ ब्याट्सम्यान दोहोरो अंकमा रन जोड्न नपाइ आउट भएका थिए। भुटानविरुद्ध पनि नेपालको ब्याटिङमा सन्तुष्ट हुने ठाँउ रहेन। ओपनर विनोद भण्डारी तेस्रो बलमा शून्य रनमा आउट भएका थिए।

नेपालको तुलनामा सिंगापुरले राम्रो ब्याटिङ गरिरहेको छ। सिंगापुरका सुरेन्द्रन चन्द्रमोहन ५ खेलमा १ सय २३ रन जोडेर प्रतियोगितामा बढी रन जोड्ने खेलाडीको शीर्ष स्थानमा छन्। चन्द्रमोहनले भुटानविरुद्ध ८० रन जोडेका थिए। बढी रन जोड्ने खेलाडीको दोस्रो स्थानमा रहेका सिंगापुरका चमिन्दा रुवानले १ सय ११ रन जोडेका छन्।

प्रतियोगितामा आफूभन्दा कमजोर राष्ट्रविरुद्ध हावी बनेको नेपालका लागि सिंगापुरले कडा चुनौती दिन सक्नेछ। त्यसैले नेपालले शुक्रबार मलेसियामा आफ्नो स्तरको परिक्षण गर्ने मौका पाउनेछ। प्रतियोगिताको उपाधि जित्ने लक्ष्य राखेको नेपाल प्रतियोगिताको उच्च वरीयताको टिम पनि हो। त्यसलै नेपालले आफ्नो साख जोगाउन पनि उपाधि बाहेक अर्को विकल्प सोच्न सक्दैन।

नेपाल र सिंगापुरबीच टी–२० मा पाँच वर्षपछि प्रतिस्पर्धा हुन लागेको हो। पछिल्लो पटक नेपाल र सिंगापुर सन् २०१३ को एसिसी टी–२० कपमा कीर्तिपुर मैदानमा भिडेका थिए। सो खेलमा नेपालले सिंगापुरलाई १ सय २१ रनले पराजित गरेको थियो। पहिले ब्याटिङ गरेको नेपालले २ सय १० रन जोडेको थियो। खेलमा विनोद भण्डारीले ३४ बलमा ५४ रन र पारस खड्काले २५ बलमा ४४ रन बनाएका थिए। २ सय ११ रनको लक्ष्य पछ्याएको सिंगापुर ८९ रनमै अलआउट भएको थियो।

टी–२० मा सिंगापुर  र नेपाल सन् २००९ मा पहिलो पटक भिडेका थिए। युएईमा भएको एसिसी टी–२० कपमा पहिले ब्याटिङ गरेको सिंगापुर ८९ मै अलआउट भएको थियो। नेपालले १ विकेटको क्षतिमा लक्ष्य पार गरेको थियो।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *