प्रचण्ड-वामदेव केमिस्ट्री

प्रचण्डले बारम्बार भन्दै आएका थिए– ‘‘एमालेका धेरै नेतालाई प्रधानमन्त्री बनाएर गुन लगाएको छु ।’’ यो कुरा साँचो हो– तत्कालीन एमालेका अध्यक्ष झलनाथ खनाल र तत्कालीन अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउन प्रचण्डको भूमिका निर्णायक बन्यो ।
तर, उनले सँगै भन्दै आएका छन्– ‘‘एमालेका अर्को प्रभावशाली नेतालाई गुन फिर्ता गर्न बाँकी छ  ।’’ उनले गुन फिर्ता गर्न बाँकी रहेका पात्र हुन्– वामदेव गौतम ।वामदेव गौतमसँगको प्रचण्डको घोषित मित्रता आजको होइन । माओवादी ‘जनयुद्ध’ शुरू हुँदादेखिको हो ।

त्यतिबेला एमाले विभाजन गरेर माले बनाएको र मालेबाट माओवादीमा पठाएको आरोप खेपेका वामदेवलाई पार्टी चलाउनसमेत ‘माओवादीले नै फन्डिङ’ गर्ने गरेको चर्चा तत्कालीन एमालेमा हुने गरेको थियो ।
त्यतिमात्रै नभएर गौतमलाई पार्टी फुटाएको आरोप मेट्न लामो संघर्ष नै गर्नुपर्यो ।

तत्कालीन एमाले र अहिलेको ने  क पाका एक प्रभावशाली नेता भन्छन्, “माओवादीले त्यतिबेला दुईवटा पार्टी सञ्चालनका लागि सहयोग गथ्र्यो, एउटा नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ नेतृत्वको एकता केन्द्र मसाल र अर्को वामदेवको नेकपा माले ।”

त्यसवापत प्रचण्डले तत्कालै लाभ उठाए । मालेका खारिएका कार्यकर्ता प्रवेश गरेकाले माओवादी आन्दोलन विस्तारित पनि भयो ।

त्यसबाहेक प्रचण्डलाई भूमिगत राजनीतिबाट संसदीय राजनीतिमा फर्काउन वामदेवले नै अहम भूमिका खेले । पुरानो मित्रता र जनयुद्धमै सघाएकाले उनलाई अतिरिक्त सम्पर्क–सूत्र चाहिएन । रुकुम, रोल्पा पुगेर वार्ता गर्न र सहमति गर्न सम्भव भयो । र, निर्णायक भूमिका पनि खेले ।तर, अहिले प्रचण्डको कदम त्यतिबेलाको गुन तिर्नमात्रै केन्द्रित छैन । न उनले भनेजस्तो वामदेवलाई प्रधानमन्त्री बनाउने कार्यभार नै बाँकी हो प्रचण्डको  ।उनको भित्रि अभिष्ट त ने क पाभित्र पानी धमिल्याएर नेतृत्वमा हाबी हुने हो ।

चार महिना हुँदैछ प्रचण्डले एकताको भान्छामा भात खान थालेको । यसबीचमा पार्टी विवाद, नेता–कार्यकर्ताको मनोदशा र केपी ओली प्रवृत्तिको नाडी छाम्न भ्याइसकेका छन् र यसैलाई टेकेर नेतृत्वमा फड्को मार्दैछन् उनी ।

पार्टीभित्र पोजिसन खोजिरहेका र केपी ओलीलाई घेराबन्दीमा पारेर गुट दर्बिलो बनाउन खोजेका माधव नेपालसँग उनको विचार मिल्दैन । झलनाथ पनि प्रचण्डका लागि सुहाउँदो पात्र होइनन् ।यसका लागि उपयुक्त पात्र हुन्– वामदेव गौतम ।

About राजेश दुलाल

View all posts by राजेश दुलाल →

Leave a Reply

Your email address will not be published. Required fields are marked *