जादु देखाउन होइन, विकास गर्न खोजेको : प्रधानमन्त्री ओली

काठमाडौं- प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले जादु देखाउन खोजेको नभई विकास गर्न खोजेको बताएका छन्।

‘हामी जादुगर होइन, कहिले अन्डा र कहिले रुमाल देखाएर अल्मल्याउने होइन। हामीले देश विकास गर्न खोजेको हो’, ओलीले भने, ‘जादु जस्तो गरी केही निस्किन्छ भनेर हामी भन्दैनौं।’

पत्रकार शुभशंकर कँडेलद्वारा लिखित पुस्तक ‘अवतरण’ सार्वजनिक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले विकासको परिणाम निकाल्ने दाबी गरे। ‘जनताले दिएको विश्वास इमानदारीका साथ पूरा गर्छु’, प्रधानमन्त्री ओलीले भने।

सरकार बनेयताका ६/७ महिना प्रदेशका सरकार र संसद चलाउने संरचना बनाउने, आवश्यक कानुन बनाउने काममा बितेको भन्दै प्रधानमन्त्री ओलीले बिस्तारै परिणाम देखिने बताए। ‘देशको अर्थतन्त्र निकै असहज अवस्थामा पुर्‍याइएको थियो’, उनले भने, ‘त्यसबाट अब तंग्रिने अवस्थामा पुगेको छ।’

प्रधानमन्त्री ओलीले देशमा भएका पछिल्ला परिवर्तनहरु आफूहरुले नै ल्याएको दाबी गरे। ‘लडाइँ पनि हामीले नै गर्‍यौं’, माओवादी द्वन्द्वतिर संकेत गर्दै उनले भने, ‘त्यसको अन्त्य पनि हामीले नै गर्‍यौं। विकास पनि हामीले नै गर्छौं।’

‘शान्ति प्रक्रियामा आउन अनुकूल मौकाको खोजी’
नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचन्डले युद्धकालमा छँदा आफूहरु शान्तिप्रक्रियामा आउन उपयुक्त मौकाको खोजीमा रहेको स्मरण गरे। ‘म एउटा परिस्थितिको खोजीमा थिएँ। त्यस्तो परिस्थितिले हामीलाई शान्तितिर र विद्रोहलाई राजनीतिक रुपान्तरणतिर लैजाओस्। म विद्रोहलाई सुरक्षित अवतरणको खोजीमा थिएँ’, उनले भने, ‘त्यो मौका दरबार हत्याकान्ड र ज्ञानेन्द्रले सम्पूर्ण पावर हातमा लिन्छु भन्ने कर्मले मैले खोजिरहेको परिस्थिति तयार भएको हो।’

प्रचण्डले माओवादी क्यान्टोन्मेन्ट नेपाली सेना प्रवेश गराउन एक दिन मात्रै ढिला गरेको भए धेरै लडाकुको ज्यान जाने दाबी गरे। ‘मैले भैरहवाबाट प्लेनमा आएर सिधै बालुवाटार गएर प्रधानमन्त्री र अरु पार्टीका नेताहरुलाई राखेर आजै हतियार व्यवस्थापन गर्नुपर्‍यो। कन्टेनरमा भएका हतियार नेपाली सेनालाई दिनुपर्‍यो भनेर तुरुन्तै नगरेको भए भोलिपल्ट सय, डेढ सय मान्छे क्यान्टोन्मेन्टमा मर्न सक्ने चित्र मैले देखिसकेको थिएँ। दोहोरो भिडन्त त्यहीँभित्र हुने र त्यो भिडन्तले नयाँ परिस्थिति बन्न सक्ने चित्र देखेपछि आजकै दिन, भोलि भनियो भने ढिलो भइसक्छ भनेको थिएँ’, प्रचण्डले स्मरण गरे, ‘मलाई थाहा थियो, त्यो गरियो भने मेरो पार्टी फुट्न सक्छ। फुटाइन्छ। पार्टीका साथीहरुलाई सह्य हुँदैन।’

गिरिजाप्रसादलाई राष्ट्रपति नबनाउनु आफ्नो अपरिपक्वता भएको प्रचण्डले दोहोर्‍याए। ‘अनुभवको कमि देखियो’, उनले भने, ‘उहाँलाई राष्ट्रपति बनाउन सकिएको भए दुई वर्षमै संविधान बन्ने थियो।’
१२ बुँदे सहमतिमा गणतन्त्र लेख्ने आफ्नो जोडबलमा गिरिजाप्रसादले सुझबुझ देखाएर पूर्ण लोकतन्त्र लेख्न सहमत भएको उनले स्मरण गरे।

About राजेश दुलाल

View all posts by राजेश दुलाल →

Leave a Reply

Your email address will not be published. Required fields are marked *