विश्वकप फुटबल आजबाट सुरु

दोहा — हमाद विमानस्थलबाट बाहिर निस्कनेबित्तिकै सडकको दायाँतिर विश्वकप फुटबलमा सहभागी ३२ देशका राष्ट्रिय झन्डाको रङमा कंक्रिटका ठुल्ठूला फुटबल सजाइएका छन् । बत्तीको खम्बामा फिफा विश्वकप र कतार विश्वकप लेखिएका झन्डा फहराइएका छन् । सडकमा गुडेका सार्वजनिक बस र हालै सञ्चालनमा ल्याइएका मेट्रो (रेल) विश्वकपकै लोगो र फुटबलसम्बन्धी तस्बिरले रंग्याइएको छ ।

दोहाका मुख्य स्थानहरूमा दर्शकलाई रंगशालाबाहिरै फुटबलको माहोल दिलाउन ‘फ्यान जोन’ बनाइएको छ । ‘फ्यान फेस्ट’ का लागि स्थान तोकिएको छ । सडकमा झिलिमिली गेटहरू बनाइएको छ । साँझको समयमा सडक र सहरका मुख्य स्थललाई विद्युतीय माध्यमबाट रंगीन बनाइएको छ । विश्वकपका खेल हेर्न विभिन्न देशबाट आएका दर्शक घाम ढल्किँदै जाँदा सडक र रंगशाला बाहिर बाजागाजा बजाउँदै नाचगान गरिरहेका भेटिन्छन् ।

कतारको माहोललाई विश्वकपले खुबै तताएको छ । २२ औं संस्करणको उद्घाटनमा आइतबार कतार र इक्वेडर भिड्दै छन् ।दोहामा व्यवसाय गरिरहेका नेपाली श्याम भुसालले भने, ‘कतारले यही विश्वकपका लागि हो १२ वर्षयता धेरै मिहिनेत गरेको । हामीले यत्तिका वर्ष नदेखेको परिवर्तन अहिले छोटो समयमै देखेका छौं । कतारको पूरा माहोल फुटबलमय भएको छ ।’ १६ वर्षअघि कतार आएका उनको कम्पनीले पनि विश्वकप रंगशालाको एक आयोजनामा काम गरेको छ ।

यहाँ पुष्प व्यवसाय गरिरहेका अर्पण खड्काले भने, ‘एउटा सानो देशले फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आयोजना गर्दै छ । यसका लागि यहाँ भौतिक संरचना निर्माण र नीति नियममा ठुल्ठूला परिवर्तन भएका छन् । त्यसैले फुटबलको महाकुम्भमा आ–आफ्ना टिमलाई समर्थन गर्न लाखौं फ्यान आइरहेका छन् ।’ १९ वर्षअघि कतार आएका उनी पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोका फ्यान हुन् । झापाका खड्का र चितवनका भुसालले अरबमा पहिलोपल्ट हुन लागेको विश्वकप फुटबलका केही खेलका टिकट पनि खरिद गरेका छन् । यहाँ रहेका फुटबल क्रेजी अरू नेपालीले पनि टिकट लिएका छन् । खेल हेर्नकै लागि नेपालदेखि पनि दर्शक आइरहेका छन् ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *