भारतीय फुटबल माथि फिफाले लगायो प्रतिबन्ध

ऎजेन्सी – विश्व फुटबलको सर्वोच्च निकाय फिफाले भारतमाथि प्रतिबन्ध लगाएको छ। अल इन्डिया फुटबल फेडेरेसन (एआईएफएफ) मा बाहिरी शक्ति हावी भएको भन्दै फिफाले  अनिश्चितकालीन प्रतिबन्ध लगाएको हो।

प्रशासनिक समस्या समाधान गर्नका लागि भएको सहमतिको ‘रोडम्याप’बाट विचलित भएको भन्दै फिफाले भारतीय फुटबललाई प्रतिबन्ध लगाएको हो। भारतको सर्वोच्च अदालतले एआईएफएफमा चुनाव गराउन निर्देशन दिँदै आफ्नै बोर्ड गठन गरेकोमा फिफाले भने पटक–पटक यस्तो नगर्न चेतावनी दिँदै आएको थियो।

भारतको सर्वोच्च अदालतले गएको मेमा भारतीय फुटबल संघ (एआईएफएफ)लाई विघटन गरेर तीन सदस्यीय तदर्थ समिति बनाई खेलको व्यवस्थापन, विधान संशोधन र १८ महिनादेखि हुन नसकेको निर्वाचन गराउने जिम्मेवारी दिएको थियो ।

एआईएफएफका अध्यक्ष पटेलले नयाँ निर्वाचन गराउँदै डिसेम्बर २०२० मै बिदा लिनुपर्ने थियो। भारतमा कुनै पनि खेलकुद संघमा तीन कार्यकालभन्दा बढी अध्यक्ष हुन पाइँदैन। यसकारण १२ वर्ष एआईएफएफको अध्यक्ष बनिसकेका पटेलले नयाँ निर्वाचन गराउनुपर्ने थियो। तर उनले अदालतमा मुद्दा विचाराधीन रहेको कारण बनाउँदै निर्वाचन गराउन आनाकानी गरिरहेका थिए।

त्यसपछि एसियन फुटबल महासंघका महासचिव विन्डसर जोनको नेतृत्वमा फिफा तथा एएफसीका प्रतिनिधिले भारत भ्रमण गरी सरोकारवालासँग भेटवार्ता गरेका थिए । फुटबलका सबै सरोकारवालासँग छलफलपछि फिफाले जुलाईको अन्त्यसम्म विधान संशोधन गरी आउँदो सेप्टेम्बर १५ सम्म निर्वाचन गराउन भनेको थियो । तर, गएको बुधबार भारतीय अदालतले तुरुन्तै निर्वाचन गराउन आदेश दिएको थियो। फुटबलको निकायलाई स्वतन्त्र चुनाव गराउन वातावरण नदिएपछि फिफाले प्रतिबन्ध लगाएको हो।

फिफाको यस निर्णयसँगै भारतले अब अन्तर्राष्ट्रिय रुपमा क्लब तथा राष्ट्रिय टोलीको प्रतियोगिता खेल्ने छैन। भारतका क्लबले पनि एएफसीको अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन पाउने छैनन्।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *