विश्वकपमा एसियाबाट पहिलो पटक ६ टिम

काठमाडौं – फिफा विश्वकप फुटबलमा एसिया महादेशबाट पहिलो पटक ६ टिमले प्रतिस्पर्धा गर्ने भएका छन् । अन्तरमादेशीय प्लेअफमा दक्षिण अमेरिकी टिम पेरुलाई हराउँदै अष्ट्रेलिया यसै वर्षको अन्त्यमा कतारमा हुने विश्वकपमा छनोट भएपछि एसियाली टिमको संख्या कीर्तिमानी बनेको हो ।

आयोजकको हैसियतमा कतारले सिधै विश्वकपमा स्थान बनाएको थियो । यस्तै जापान, दक्षिण कोरिया, इरान र साउदी अरेबिया छनोट चरण पार गर्दै छनोट भएका हुन् ।

३२ टिमले खेल्ने विश्वकपमा यस पटक एसियाबाट अहिलेसम्मकै धेरै टिमले खेल्ने भएको हो ।

यसअघि २०१८ मा रुसमा भएको विश्वकपमा एसियाबाट ५ टिमले प्रतिस्पर्धा गरेका थिए । अहिलेका आयोजक कतार बाहेक बाँकी पाँच टिमले रुसमा खेलेका थिए । त्यसअघि १९९८ देखि २०१४ सम्म लगातार ५ विश्वकपमा एसियाबाट समान ४ टिमले खेलेका थिए । १९९८ अघि भने एसियाबाट विश्वकपमा २ वटा मात्र कोटा थियो । २४ टिमले विश्वकप खेल्दा एसियाबाट थोरै संख्यामा प्रतिनिधित्व हुन्थ्यो । तर १९९८ मा विश्वकप खेल्ने टिम संख्या बढाएर ३२ बनाएपछि एसियाबाट पनि टिम संख्या बढेको थियो ।

यसपटक विश्वकपमा ८ समूहमध्ये ६ समूहमा एसियन टिम समावेश छन् । एसियाबाट छनोट हुने अन्तिम टिम बनेको अष्ट्रेलिया साविक विजेता फ्रान्स रहेको समूह डी मा परेको छ । यस समूहमा डेनमार्क र ट्युनिसिया पनि छन् ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *