साउनबाटै इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्न सूचना: पूर्वाधार र पूर्व तयारी केही छैन

यातायात व्यवस्था विभागले साउन १ गतेबाटै अनिवार्य गर्ने गरी इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने भन्दै केही दिनअगाडि एउटा सूचना जारी गर्‍यो । साउन १ गतेसम्ममा बागमती र गण्डकी प्रदेशमा दर्ता भएका सवारीसाधनहरूले अनिवार्यरुपमा इम्बोस्ड नम्बर प्लेट जडान गरी प्रयोग नल्याए सडकमा ट्राफिक प्रहरीले कारबाही गर्ने चेतावनीसमेत विभागले दिएको छ ।

यातायात व्यवस्था विभागले यस्तो चेतावनीसहितको सूचना जारी गरेपछि यतिबेला इम्बोस्ड नम्बर प्लेटको उपयोगिता र साउन १ गतेभित्रै पूर्ण कार्यान्वयनमा ल्याउन सकिने वा नसकिने भन्ने सम्बन्धमा बहस सुरु भएको छ ।

हालसम्मको तथ्याङ्क हेर्ने हो भने देशैभरका यातायात कार्यालयबाट करिब २५ हजार मात्रै सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गरिएको छ । बागमती प्रदेशका चार पाङ्ग्रेसहितका ठूला सवारीसाधनमा करिब १२ हजार र मोटरसाइकलमा करिब ६ हजार सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गरिएको छ । अन्य प्रदेशहरूमा सबै गरी करिब २५ हजार सवारीसाधनमा मात्रै इम्बोस्ड नम्बर प्लेट जडान गरिएको छ । बागमती र गण्डकी प्रदेशमा गरी करिब २० लाख सवारीसाधन दैनिक सञ्चालनमा छन् । यस्तो अवस्थामा अबको ४० दिनमै १९ लाख ७५ हजारभन्दा बढी सवारीसाधनमा इम्बोस्ड नम्बर जडान भइसकेको हुनुपर्ने आशयको सूचना जारी भएको छ ।
यो सूचना जारी भएपनि यसको कार्यान्वयनमा भने निकै ठूलो समस्या आउने देखिएको छ । इम्बोस्ड नम्बर प्लेट जडान गर्नका लागि लाग्ने समय, सुरक्षा व्यवस्था आदिको कारण हाल साना ठूला सवारीमा इम्बोस्ड जडान गर्न प्रति सवारीसाधन करिब १५ मिनेट समय लाग्ने गरेको छ । १५ मिनेटका दरले समय लाग्दा एकान्तकुनामा हाल एउटा मात्रै स्थानबाट इम्बोस्ड नम्बर जडान गर्दा एक दिनमा बढीमा ३२ वटा सवारीसाधनमा मात्रै इम्बोस्ड नम्बर प्लेट जडान गर्न सकिन्छ ।
साना सवारीको हकमा टेकुबाट पनि इम्बोस्ड नम्बर प्लेटको व्यवस्था गरिएपनि दैनिक औसतमा एक सय भन्दा बढी सवारीमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न सक्ने अवस्था र क्षमता दुवै छैन । अहिलेको जनशक्तिलाई थप गरेर ५ स्थानबाट इम्बोस्ड नम्बर प्लेट जडान गर्ने गरी काम गरेमा पनि एक दिनमा साना ठूला सवारीमा इम्बोस्ड नम्बर जडान गर्न दैनिक १६० वटामा मात्रै जडान गर्न सकिन्छ । एक महिनामा करिब २० दिन कार्यदिन रहेको अवस्थामा पनि एक महिनामा बढीमा ३ हजार २ सय सवारीमा मात्रै इम्बोस्ड नम्बर प्लेट जडान गर्न सकिन्छ । बाँकी १० दिनमा एक हजार ६ सय सवारीमा इम्बोस्ड न्म्बर जडान गर्दा ४० दिनमा जम्मा ४ हजार ८ सय सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न सकिन्छ ।
यातायात व्यवस्था कार्यालयले इम्बोस्ड नम्बर प्लेट जडान गर्ने स्थान २० वटा बनाए पनि मासिक १२ हजार ८ सय साना ठूला सवारीसाधनमा मात्रै इम्बोस्ड नम्बर प्लेट जडान गर्न सकिन्छ । यो अवस्था हेर्दा विभागले जसरी सूचना जारी गरेको छ, त्यो उद्धेश्य प्राप्त गर्ने पूर्वाधार र पूर्व तयारी छैन ।

यता मोटरसाइकलमा इम्बोस्ड नम्बर प्लेट जडानको अवस्था झनै कमजोर र सुस्त छ । यातायात व्यवस्था कार्यालय मोटरसाइकल, गुर्जुधाराका प्रमुख दीपक पोखरेल साउन १ अगाडि नै सबै मोटरसाइकलमा इम्बोस्ड नम्बर प्लेट जडानको सम्भावना नै नरहेको बताउँछन् । पोखरेलका अनुसार हालसम्म बागमती प्रदेशमा दर्ता भएका करिब ६ हजार मोटरसाइकलमा मात्रै इम्बोस्ड नम्बर प्लेट जडान गरिएको छ । तर बागमती प्रदेशमा करिब १४ लाख मोटरसाइकल दर्ता भएका छन् । बागमतीमा दर्ता भएका १४ लाख मोटरसाइकल मध्ये करिब १० लाख मोटरसाइकल चलनचल्तीमा रहेको पोखरेलको अनुमान छ । तर हालसम्म जम्मा ६ हजार मोटरसाइकलमा मात्रै इम्बोस्ड नम्बर प्लेट जडान भएको कारण जति नै छिटो काम गरे पनि सबै मोटरसाइकलमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न कम्तीमा दुई वर्ष लाग्नेछ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *