रक्सी खान जाउँ भन्ने ‘साँढे’बाट पर्यटन बोर्ड चल्दैन : मन्त्री आले

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले हाल छानबिनका क्रममा रहेका पर्यटन बोर्डका सीईओ धनञ्जय रेग्मीमाथि खनिएका छन् । उनले रेग्मीले टोयोटाका गाडी बेचेर आफ्नो इमान किन्न खोजेको आरोप लगाउँदै आक्रोश व्यक्त गरे ।

मन्त्री आलेले सीईओ रेग्मीकै कारण बेलायतमा भएको विश्व पर्यटन मेलामा नेपालको बेइज्जत भएको भन्दै रक्सीको मातमा उन्मत्त भएका मानिसलाई संस्थाको सीईओ बनाउँदा संस्था चल्न नसक्ने बताए । उनले  सीईओ रेग्मीलाई साँढेको संज्ञा दिँदै आफ्नो इमान किन्ने कुरा सपनामा पनि नसोच्न चेतावनी दिए ।

मन्त्री आलेले भने, ‘अब यहाँ साँढेहरुलाई ल्याएर राजनीतिक नियुक्ति दिइन्छ । अब त्यो साँढे कस्ता हुन्छ भन्दा हुँहुँहुँ गरेर आउँछ । भखैर पदबहाली गरेको हुँहुँहुँ गरेर आउँछ । मन्त्रीसँग मेरो क्लाइमेक्स मिल्दैन रे । क्लाइमेक्स मिल्न त मैले जाँड खाने हुनुपर्छ । यहाँबाट म लण्डनको प्रोग्राममा गएँ । म जाँदै जाँदिन भन्दा जाउँ हजुर भने । त्यहाँ त आफ्नो देशको बारेमा कुरा राख्नुपर्छ भनेर जबरजस्ती गरेर लगे । त्यहाँ गएपछि मैले मेरो देशको लागि कोभिडबाट थला परेको देश, हस्पिटालिटीमा लागेका साथीहरुसहित विभिन्न साथीहरु, हाम्रो देश सेभ जोनमा छ भनेर सबैलाई आह्वान गर्ने इच्छा थियो ।  तर केही पनि छैन बोल्ने कार्यक्रम छैन ।’
आलेले अगाडि भने, ‘अब यस्तो साँढेलाई सिईओ हामीले बनायौँ भने संस्था चल्छ ? सदस्यहरुले यस्तो गर्नुहुँदैन संस्था डुब्छ भन्दा ल तपाई आज धेरै रिसाउनुभयो, जाउँ हिँड्नुस् रक्सी खान भन्ने त्यस्तो साँढेलाई ल्याएर सीईओ बनाएपछि संस्था चल्छ ? म त दुःखका साथ भन्छु, लण्डनमा हुँदा कार्यक्रममा डेढ घण्टा म उभिएँ, सबैले स्याम्पेन खाइरहेका छन् । म नखाने मान्छे साइडमा उभिरहेँ । हाम्रो त्यो साँढेले पनि भटाभट लगाइरहेको छ । आफ्नै आँखाले देखिरहेको छु, मलाई खा भन्छ । उसले पहिलाको मन्त्री जस्तो ठान्यो होला प्रेम आलेलाई । ४ वटा गाडी बेचेर प्रेम आलेलाई त्यो इमान म खरिद्छु भनेर, त्यसले सोच्यो होला त्यो सपनामा पनि नसोचे हुन्छ ।  इमान बेचेर म यो चियरमा बस्नेवाला छैन ।’

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *