एमसीसीबारे छलफल गर्न ३ सदस्यीय कार्यदल गठन

काठमाडौं – सत्तारुढ ५ दलीय गठबन्धनले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोसेशन (एमसीसी) बारे टुंगोमा पुग्न ३ सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल, नेपाली काँग्रेसका नेता तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ छन् ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक बस्नुअघि सत्तारुढ ५ दलीय गठबन्धनको बैठक बसेको थियो । सो बैठकले एमसीसीका सम्बन्धमा टुंगोमा पुग्न तीन नेतालाई जिम्मेवारी दिएको हो । कार्यदलले एमालेलगायत अन्य दलहरुसँग छलफल गरेर एमसीसीबारे ठोस निष्कर्षमा पुग्ने गठबन्धनका एक नेताले बताए ।

तीन सदस्यीय कार्यदलको नेतृत्व गरेका खनाल यसअघि नेकपाद्वारा गठित एमसीसी सम्बन्धी कार्यदलका समेत संयोजक थिए । खनालले एमसीसी यथास्थितिमा पारित हुन नसक्ने बताउँदै आएका छन् । त्यसैगरी कार्यदलमा रहेका माओवादी नेता श्रेष्ठ पनि एमसीसी यही अवस्थामा पारित हुन नहुने लाइनमा छन् । कार्यदलका सदस्य रहेका मन्त्री कार्की भने यसअघि एमसीसी सम्झौताका हस्ताक्षरकर्ता समेत हुन् ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *