विभाजनको बाटोमा विवेकशील साझा : रवीन्द्र मिश्र विरुद्ध मिलनको काउन्टर

काठमाडौं – विवेकशील साझा पार्टीमा फेरि विवाद बढेको छ । खासगरी पार्टी अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डेबीच बढेको विवादले पार्टी पुनः विभाजनको संघारमा धकेलिएको छ ।

अध्यक्ष मिश्रले केही पहिले सार्वजनिक गरेको दस्तावेज पछि दुई पक्षबीच चलेको विवादका कारण बैठक समेत अलग–अलग आह्वान गरिएको छ । अध्यक्ष मिश्रले मंगलबार आगामी भदौ १७ गते बिहीबार साढे १२ बजे केन्द्रीय समितिको बैठक बोलाएलगत्तै संयोजक पाण्डेले पनि सोही दिन ११ बजेलाई समानान्तर बैठक बोलाएका छन् ।

‘अध्यक्षले सहमतिका आधारमा बैठक बोलाउने प्रयास गर्नुभएको थियो तर सहमति नभएपछि पार्टीलाई डेडलकबाट बचाउन बिहीबारलाई बैठक बोलाउनुभएको हो’, अध्यक्ष मिश्र पक्षीय विवेकशील साझा पार्टीका सञ्चार तथा सूचना प्रविधि विभाग प्रमुख प्रकाशचन्द्र परियारले भने, ‘केन्द्रीय सदस्यहरुले बैठकको माग गरिरहेपछि पार्टी डेडलकको अवस्थामा लामो समय राख्नुभएन ।’

नेता परियारले पार्टीभित्र सैद्धान्तिक व्यवहारिक विवाद रहेको स्वीकार्दै त्यो विवाद सम्बोधन गर्ने प्रयास अध्यक्ष मिश्रले गरेको दावी गरे । ‘पार्टीभित्र सैद्धान्तिक, व्यवहारिक विवाद रहेको सत्य हो । त्यो विवाद सम्बोधन गर्न सकिन्छ कि भनेर नै अध्यक्षले बैठक आह्वान गर्नुभएको हो । तर पाण्डेजीहरु सहमतिमा पनि आउनुभएन र यता बैठक बोलाएपछि काउन्टर टुल्सका रुपमा प्रयोग गरेर अर्को बैठक आह्वान गर्नुभयो’, परियारको भनाइ छ । तर, अध्यक्षले एकतर्फी रूपमा बैठक बोलाएको संयोजक पाण्डे पक्षको दावी छ ।

यसले अध्यक्ष र संयोजकले फरक–फरक बैठक बोलाएपछि पार्टीका केन्द्रीय सदस्यहरु समेत अलमलमा परेका छन् । पाण्डे पक्षले भने अध्यक्षले दुई पार्टी एकीकरण गर्दा भएको सम्झौता विपरित बैठक बोलाइएको भन्दै त्यसलाई आफूहरूले काउन्टर दिनुपरेको बताएको छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *