मन्त्रिपरिषद विस्तारबारे बालुवाटारमा शीर्ष नेताबीच छलफल

काठमाडौं – सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीच मन्त्रिमण्डल विस्तारबारे छलफल भएको छ । मन्त्रिपरिषदको विस्तारबारे सोमबार अन्तिम टुंगो लगाउने बालुवाटारमा सहमति जुटेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री समेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको हो । छलफलमा दोस्रो तहका नेताहरुको पनि सहभागिता थियो ।

आइतबार बिहानै भएको छलफलमा मन्त्रिमण्डल विस्तार र मन्त्रालयको भागबण्डाबारे कुराकानी भएको सहभागी एक नेताले जानकारी दिए । गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले अहिलेसम्म चार मन्त्रीसहित एक राज्यमन्त्री मात्र नियुक्त गरेका छन् । गठबन्धनमा सहमति नजुट्दा लामो समयसम्म सरकारले पूर्णता पाउन सकेको छैन ।

‘आज मन्त्रिपरिषद विस्तारबारे सामान्य छलफल भयो,’ बैठकमा  सहभागी एक नेताले रातोपाटीसँग भने, ‘जनता समाजवादी पार्टीका शीर्ष नेता बाहिर रहेकाले भोलि (सोमबार) फेरि बसेर अन्तिम टुंगो लगाउने सहमति भएको छ ।’

एमालेबाट छुट्टिएका माधव नेपाल नेतृत्वको समाजवादीलाई समेटेर मन्त्रिमण्डल विस्तार गर्ने तयारी अनुसार नेताहरुबीच छलफल भएको हो । तर, जसपाका नेता उपेन्द्र यादवले बाहिरी जिल्लामा पार्टीको कार्यक्रम रहेकाले १३ गतेसम्म पर्खिदिन प्रधानमन्त्री देउवालाई आग्रह गरेकाले सरकार विस्तार १४ गतेसम्म लम्बिएको हो ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *