दार्चुला घटनाको तत्काल छानवीन गर्न प्रधानमन्त्रीसँग पाँच विद्यार्थी संगठनको माग

काठमाडौं – पाँच विद्यार्थी संगठनहरुले प्रधानमन्त्री शेरबहादुर देउवासंग भारतीय ज्यादती रोक्न माग गरेका छन् ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका पाँच विद्यार्थी संगठनहरुले एक ज्ञापनपत्र बुझाउँदै सीमा क्षेत्रका नेपालीमाथि हुने भारतीय ज्यादती रोक्न माग गरेका हुन् ।

दार्चुलाको व्यास गाउँपालिका वडा नं. २ का जयसिंह धामी विदेश जानको लागि महाकाली नदी तर्ने क्रममा भारतीय सशस्त्र प्रहरीले तुइन काटिदिएपछि नदीमा बगेर बेपत्ता भएको घटनाको छानविन गर्न समेत माग गरिएको अखिल क्रान्तिकारीका उपमहासचिव एवं प्रवक्ता जीपी मैनालीले बताए ।

भारतीय अपराधिक कार्यको विरोध र भत्र्सना गर्दै घटनाको छानविन गरी तुइन काट्ने व्यक्तिलाई कारवाही गर्न र सीमा क्षेत्रका नेपालीमाथि हुने भारतीय ज्यादती रोक्न माग गर्दै ज्ञापन पत्र प्रधानमन्त्रीलाई बुझाएको मैनालीले बताए ।

यस्तै मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा विद्यार्थीको आन्दोलन चलिरहेको रहेको र विश्वविद्यालयका उपकूलपतिले विद्यार्थीमाथि प्रशासन लगाएर दमन गर्ने, धम्क्याउने गरेको आरोप पाँच विद्यार्थी संगठनहरुले लगाएका छन् । उपकूलपतिको कारण परीक्षाको वातावरण विथोलिएको जनाउँदै उनीहरुले विद्यार्थीहरुका जायज मागहरु सम्बोधन गरी परीक्षा सूचारु गर्न माग प्रधानमन्त्री देउवासंग माग गरेका छन् ।

‘धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारीहरुबाट भ्रष्टाचार, अनियमितता भएको छ । प्रतिष्ठानका पदाधिकारीहरुले दादागिरी मच्याइरहेका छन् । पढाइ, विरामीको उपचारलगायत दैनिक काममा निकै बाधा उत्पन्न भएको छ । उपकूलपतिलाई बर्खास्त गरी प्रतिष्ठानका समस्या समाधान गर्न माग गर्दछौं’ पाँच विद्यार्थी संगठनहरुले प्रधानमन्त्री देउवालाई बुझाएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

नेपाल विद्यार्थी संघका अध्यक्ष राजिव ढुंगाना, अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ, अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली, समाजवादी विधार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ र अखिल छैठोका अध्यक्ष विमल पोखर सहितका विद्यार्थी नेताहरु ज्ञापनपत्र बुझाउँन प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *