सिन्धुपाल्चोकका बाढी प्रभावित तीन पालिकालाई माओवादीको ६७ लाख सहयोग

सिन्धुपाल्चोक– बाढी प्रभावित सिन्धुपाल्चोकका तीन पालिकालाई नेकपा माओवादी केन्द्र बागमती प्रदेशले आर्थिक सहयोग गरेको छ ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् बागमती प्रदेशका पूर्वमन्त्री युवराज दुलाल, केन्द्रीय सदस्य माधव सापकोटा र नेता चन्द्रबहादुर थापाको सक्रियतामा संकलित रकम सोमबार हस्तान्तरण गरिएको हो । बागमती प्रदेशभित्र नेकपा माओवादी केन्द्रले नेतृत्व गरेका स्थानीय तहहरुबाट संकलित रकम मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई हस्तान्तरण गरिएको छ ।

मेलम्ची र हेलम्बुलाई २३ लाख २९ हजार ९ सय ९९ रुपियाँ प्रतिपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकालाई २० लाख २९ हजार ९ सय ९९ रुपियाँ प्रदान गरिएको छ । रकम हस्तान्तरण गर्दै बागमती प्रदेश कमिटी अध्यक्ष नारायण दाहालले विपत्तिमा सानो सहयोग गरेको बताउनुभयो । उहाँले क्षतविक्षत भएको स्थानीय तहलाई पुनः हराभरा बनाउन केन्द्रमा पनि पहल गर्ने वचन दिनुभयो ।

कार्यक्रममा माधव सापकोटाले बाढीग्रस्त क्षेत्र मेलम्ची, हेलम्बुमा तत्काल दुई वटा बेलिब्रिज बनाउन पहल भइरहेको साथै अर्थ मन्त्रालयबाट पुल निर्मार्णका लागि निर्देशन आइसकेको जानकारी गराउनुभयो । कार्यक्रममा प्रभावित पालिकाहरुबाट प्रतिनिधित्व गर्दै मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले विपद्को बेला सहयोग गरेकामा माओवादी पार्टी नेतृत्वलाई धन्यवाद व्यक्त गर्नुभयो ।

उहाँले पहिरो आएको मुहान क्षेत्रमा तत्काल अध्ययन गरी त्यहाँको बारेमा स्थानीय तह र स्थानीयवासीले सूचना पाउनुपर्ने बताउनुभयो । नगर प्रमुख अर्यालले मेलम्ची नगरपालिकाले काम गरेन भनेर आलोचना भइरहेको भएको आफूले सुनेको भन्दै मुहान क्षेत्रको रिपोर्टको पर्खाइमा रहेको र त्यही आधारमा नगरले काम थाल्ने जानकारी दिनुभयो । देवराज सुवेदी रासस 

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *