प्रधानमन्त्रीमा देउवाको पाँचौं इनिङ

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले कांग्रेस सभापति शेरबहादुर देउवालाई मंगलबार प्रधानमन्त्री नियुक्त गर्ने भएकी छन् । अदालतले २८ घण्टाभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सोमबार परमादेश दिएपछि राष्ट्रपतिले प्रधानमन्त्री नियुक्ति र शपथबारे देउवालाई जानकारी गराएकी हुन् ।

राष्ट्रपति कार्यालयको तयारीबारे जानकारी पाएपछि देउवाले मंगलबारै सानो मन्त्रिपरिषद् बनाउने र गठबन्धनलाई अघि बढाउने योजनाबारे छलफल गरेका छन् । कांग्रेस नेता बालकृष्ण खाँणका अनुसार पहिलो चरणमा कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीको उपेन्द्र समूहबाट सानो मन्त्रिपरिषद् बन्नेछ । गठबन्धनमा आबद्ध एमालेको झलनाथ खनाल र माधवकुमार नेपाल पक्ष भने सरकारमा नजाने भएको छ ।

अदालतको फैसलालगत्तै आफैंले बोलाएको गठबन्धन बैठकमा नेता नेपालले एमालेभित्र एकता प्रयास अघि बढेकाले तत्काल सरकारमा जान र गठबन्धनमा आबद्ध भइरहन अप्ठ्यारो परेको बताएका थिए । ‘अहिल्यै पूर्ण मन्त्रिपरिषद् विस्तार हुन्न, कति संख्यामा गर्ने र क–कसलाई लैजाने भन्नेबारे मंगलबार बिहान नेताहरूबीच छुट्टै छलफल हुन्छ,’ गठबन्धन बैठकमा सहभागी नेता खाँणले भने ।

४९ वर्षको उमेरमा देउवा २०५२ भदौ २७ मा पहिलो पटक प्रधानमन्त्री भएका थिए । २०५८ साउन ११ मा दोस्रो पटक र २०६१ जेठ २१ मा तेस्रो पटक उनी प्रधानमन्त्री बने । संविधान जारी भएपछि २०७४ जेठ २४ मा देउवा चौथो पटक प्रधानमन्त्री बनेका थिए । नेपालको इतिहासमै पहिलो पटक अदालतको आदेशबाट देउवा प्रधानमन्त्री बन्न लागेका हुन् ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *