गाँस कटाएर खाडीका नेपालीले पठाए अक्सिजन सिलिन्डर

काठमाडौँ – आफ्नो देशमा अक्सिजन नपाएर बिरामीको मृत्यु भएको खबरले खाडीमा काम गर्ने नेपाली श्रमिकलाई पिरोलेको छ । सामाजिक सञ्जालमा अक्सिजन लिन नपाएर ज्यान गएका खबरले मन पोलेपछि उनीहरूले आफ्नो गाँस काटेर ५ सय ६० थान सिलिन्डर पठाएका छन् ।

कुवेतको अलमुल्ला क्लिनिङ कम्पनीमा कार्यरत बाँकेकी दुर्गा ढकालको मनमा छटपटी छ । घरगाउँबाट अक्सिजन छैन भन्दै फेसबुकमा छिनछिन आइराख्ने सन्देशले मुटुमा घोच्छ । ‘फेसबुकको सन्देशले नेपालको अवस्था साँच्चिकै कहालीलाग्दो देखाउँछ,’ उनले भनिन्, ‘सास फेर्न नसकेको भिडियो देख्दा यो मन छियाछिया हुन्छ ।’

नेपालमा अक्सिजन पठाउन पाए हुन्थ्यो भन्ने लागिरहेका बेला गैरआवासीय नेपाली संघ कुवेतको सूचना आयो– ‘अक्सिजनको सिलिन्डर पठाउन आर्थिक सहयोग गरौं ।’ त्यो सूचना पाएकै दिन ढकालले एक दिनको तलब दिइन् । ‘हामी एभेन्युज मलमा क्लिनिङको काम गर्ने झन्डै एक सय ३५ जना दिदीबहिनी र दुई सय दाजुभाइ होलान् । सबै मिलेर एकै दिन एक लाख ५२ हजार रुपैयाँ उठायौं,’ उनले भनिन्, ‘यसले मनमा ठूलो सान्त्वना मिलेको छ ।’ एनआरएनए, कुवेतका अध्यक्ष सुजन केसीका अनुसार सिलिन्डर पठाउने अभियानमा कुवेतबाट मात्रै १० लाख रुपैयाँ संकलन भयो । ‘यो अभियानमा घरमा काम गर्ने दिदीबहिनी तथा दाजुभाइको पनि योगदान छ,’ उनले भने, ‘अहिले सबैको मनमा देशमा बढीभन्दा बढी अक्सिजनको सिलिन्डर पठाउन पाए हुन्थ्यो भन्ने छ ।’

खाडी क्षेत्रमा कार्यरत श्रमिकको सहयोगबाट शनिबार काठमाडौंमा ओमानबाट ५ सय ६० सिलिन्डर आइपुगेको छ । सिलिन्डरको मूल्य ६३ हजार ७ सय डलर पर्थ्यो । भारतले पनि खाडीका कम्पनीबाट धमाधम सिलिन्डर उठाइरहेका बेला ओमानमा मौज्दात सिलिन्डरलाई जोगाइराख्न चुनौती थियो । ‘हामीले उपलब्ध सिलिन्डरबारे तुरुन्तै एनआरएनएको अन्तर्राष्ट्रिय नेतृत्वलाई जानकारी गरायौं । खाडी क्षेत्रबाट आर्थिक संकलन गरी सोधभर्ना गर्ने गरी आईसीसीबाट तुरुन्तै बिल भुक्तानी भयो,’ गैरआवासीय नेपाली सोसल क्लब, मस्कटका अध्यक्ष विकल झाले कान्तिपुरलाई भने, ‘सिलिन्डर सुरक्षित गर्न पाएपछि खाडी क्षेत्रमा आर्थिक संकलन सुरु भयो ।’ कान्तिपुर दैनिकबाट 

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *