सेवा र करियर दुबैका लागि बीएचसीएम

काठमाडौं – प्लस टु पछि स्नातक तहका लागि पछिल्लो बर्षहरुमा बीएचसीएम विद्यार्थीहरुको रोजाइमा पर्न थालेको छ । स्वास्थ्य संस्थाको व्यवस्थापन गर्न बीएचसीएम कोसेढुंगो साबित भएको छ । अस्पतालमा डाक्टर र नर्सको व्यवस्थापन तथा गुणस्तरीय सेवा उपलब्ध गराउने काम बीएचसीएम पढेका व्यवस्थापकको हो । अस्पतालमै काम गर्ने अवसर मिल्ने भएकाले डाक्टर र नर्सको विकल्पका रूपमा पनि विद्यार्थीको रोजाइमा बीएचसीएम परेको छ।

नेपाल संघीय संरचनामा गएसँगै स्थानीय तह, प्रदेश र केन्द्रमा सरकारी तथा निजी क्षेत्रबाट स्वास्थ्य संस्था खोल्ने क्रम बढेको छ त्यसैले ती स्वास्थ्य संस्थाका लागि कुशल व्यवस्थापकको खाँचो छ । यही विषय पढेकामा व्यवस्थापनसम्बन्धी ज्ञान र सीप धेरै हुने भएकाले यसको माग अत्यधिक भएको सेन्ट्ररल कलेज अफ बिजनेस म्यानेजमेन्ट का प्राचार्य पारस श्रेष्ठ बताउनुहुन्छ ।

बीएचसीएम करियर र सेवा दुबै हुने भएकाले पनि विद्यार्थीहरुको आकर्षण बढ्दै गएको सेन्ट्ररल कलेजका सहायक प्रमुख गणेश बुढाथोकीको भनाइ छ ।

के हो बीएचसीएम ?
ब्याचलर इन हेल्थ केयर म्यानेजमेन्ट (बीएचसीएम) भनेको स्वास्थ्य क्षेत्रको व्यवस्थापन गर्ने शिक्षा हो । म्यानेजमेन्टको ५० प्रतिशत र स्वास्थ्यको ५० प्रतिशत विषय समावेश गरेर बीएचसीएम कोर्स तयार पारिएको हुन्छ । यो म्यानेजमेन्ट, हेल्थ र आईटी समायोजन गरेर बनाइएको कोर्स हो । बीएचसीएम बिरामीको केयर गर्ने शिक्षा होइन । यसले स्वास्थ्य संस्थाको निगरानी गर्छ । बीएचसीएम कोर्सले स्वास्थ्य संस्थालाई व्यवस्थापन गर्न चाहिने दक्ष जनशक्ति उत्पादन गर्छ ।

स्वास्थ्य संस्था चिकित्सक र नर्सले मात्र चल्दैन । स्वास्थ्य संस्थालाई चुस्त रुपमा चलाउन व्यवस्थापकको आवश्यकता पर्छ । स्वास्थ्य संस्थाका लागि चाहिने आवश्यक वस्तुको प्रबन्ध गर्नुका साथै चिकित्सकको समेत व्यवस्थापन गर्ने भूमिका बीएचसीएम पढेर जागिर खाएका व्यक्तिको काँधमा रहन्छ । स्वास्थ्य संस्थामा प्रशासनिक काम पनि व्यवस्थापकको हातमा हुन्छ ।
त्यस्तै, स्वास्थ्य सेवा लिन आएका बिरामीलाई सहज रुपमा सेवा उपलब्ध गराउने काम पनि व्यवस्थापककै हो ।

कस्ता विद्यार्थीले पढ्न पाउँछन् ?
कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षा पढेकाले पढ्न पाउँछन् । ए लेभल र सीटीईभीटीबाट डिप्लोमा तह पास गरेकाले पढ्न पाउँछन्
११ र १२ मा जीपीए २.० वा ४५ प्रतिशत ल्याएकाले पढ्न पाउँछन् ।

बीएचसीएम किन पढ्ने ?
स्वास्थ्य संस्थाको व्यवस्थापक बन्न
स्वास्थ्य क्षेत्रको अनुसन्धान गर्न
देशको सेवा गर्न
बिरामीको हेरचाह गर्न
बिरामीमैत्री अस्पताल बनाउन

कति खर्च लाग्छ ?
बीएचसीएम चार वर्षे कोर्स हो । चार वर्षमा ८ वटा सेमेस्टर हुन्छन् । यसका लागि ५ देखि ६ लाखसम्म खर्च लाग्छ । तर, क्याम्पसले दिने सेवा सुविधाका आधारमा शुल्कमा केही तलमाथि हुन सक्छ । विद्यार्थीलाई विभिन्न जिल्ला भ्रमण, प्राक्टिकल, खेलकुदलगायतका कार्यक्रममा सहभागी गराउनुपर्ने भएकाले क्याम्पसले त्यहीअनुसार शुल्क निर्धारण गर्छ ।

बीएचसीएम पढाइ हुने क्याम्पस
नेपालमा सन् २००० बाट ब्याचलर इन हेल्थ केयर म्यानेजमेन्ट (बीएचसीएम)को चार वर्षे कार्यक्रम सुरु भएको हो । पोखरा विश्वविद्यालयअन्तर्गत मात्र सेमेस्टर प्रणालीमा उक्त कार्यक्रम सञ्चालन गरिएको छ । क्याम्पसहरु ९० प्रतिशत विद्यार्थीलाई उत्तीर्ण गराउन सफल भएका छन् । अहिले नेपालमा छवटा क्याम्पसले उक्त कार्यक्रम पढाउँदै आएका छन् ।

सेन्ट्रल कलेज अफ बिजनेस म्यानेजमेन्ट, सिनामंगल, काठमाडाैं
इम्पेरियल बिजनेस कलेज, कमलादी, काठमाडौं
नोबेल कलेज, सिनामंगल, काठमाडौं
नेसनल ओपन कलेज, सानेपा, ललितपुर
अथर्भ कलेज, बाँसबारी, काठमाडौं
एमिटी कलेज, महेन्द्रनगर

कुन क्षेत्रमा काम गर्ने अवसर मिल्छ ?
अस्पताल (सरकारी, प्राइभेट र सहकारी)
गैरसरकारी संस्था
अन्तर्राष्ट्रिय गैरसरकारी संस्था
औषधि उत्पादन कम्पनी
मेडिकल कलेज
स्वास्थ्य कार्यालय
क्लिनिक

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *