नहुने चुनावका लागि निर्वाचन आयोगको ८ करोड बढी खर्च

काठमाडौं – हुन नसकेको चुनावको तयारीका लागि निर्वाचन आयोगले हालसम्म ८ करोड हाराहारी खर्च गरेको छ । प्रधानमन्त्री केपी शर्माओलीले प्रतिनिधिसभा भङ्ग गर्दै आगामी वैशाख १७ र २७ गते दुई चरणमा चुनाव घोषणा गरेपछि आयोगले तयारी थालेको थियो । आयोगले जिल्ला कार्यालयहरुलाई विभिन्न शीर्षकमा ४ करोड १७ लाख ९० हजार रुपैयाँ पठाइको छ भने सोही हाराहारीमा केन्द्रीय कार्यालयले खर्च गरेको हो ।

सवारी साधन मर्मत, कार्यालयका लागि आवश्यक सामग्री खरिद, धारा, बिजुली मर्मत लगायतका कामका लागि सो रकम निकासा गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । केन्द्रीय कार्यालयमा पनि सवारी मर्मत, निर्वाचनको अन्य तयारीका क्रममा खर्च भएको उनले बताए । उनले भने– ‘खर्चभन्दा पनि आयोगले तयारी धेरै गर्यो । सामान खरिद सूची प्रकाशन अघि सामग्रीको सूची तयार पार्ने, बजार बुझेर लागत अनुमान तयार पार्ने लगायतका कामहरु हामीले महिनौँ लगाएर गर्नुपर्यो । सामग्री खरिदका लागि पत्रिकामा सूचना प्रकाशन गरियो । खर्चभन्दा पनि काम धेरै भएको छ ।’

सरकारले चुनाव घोषणा गरेपछि आयोगले मतदाता नामावली अध्यावधी, मतदान केन्द्रहरुको अवलोकन गर्ने काम, आचारसंहिता लगायतको आन्तरिक तयारी, मतपत्र छपाइसम्बन्धी तयारी, कार्यालयको तयारी, उपकरणहरुको मर्मत सम्भार लगायतका कामहरु गरेको आयोगको भनाई छ ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापित गरेपछि आयोगको निर्वाचन सम्बन्धी सम्पूर्ण कार्यक्रम स्थगित भएको छ । निर्वाचन तयारी सम्बन्धी सम्पूर्ण कामहरु, जनशक्ति निर्देशिका, कार्यविधि बनाउने काम, निर्वाचन सामग्री व्यवस्था गर्ने लगायतका काम रोकिएको छ । निर्वाचन कार्यक्रम स्थगित गर्नेबारे आयोगले औपचारिक निर्णय गर्न भने बाँकी छ ।

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *