सिपाहीबिनाका जर्नेल: बादल एक्लै गए ओलीसँग

काठमाडौं – नेकपाको विभाजन प्रक्रियामा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ मात्रै प्रधानमन्त्री केपी शर्मा ओली समूहमा  लागेका छन्। चार दिनसम्म  कुन समूहमा जाने निर्णय नगरेका बादलले बुधबार राति ओली समूहमा लाग्ने निर्णय गरेका हुन्।

बादलले अन्तिममा ओलीलाई रोज्दा उनीनिकट सबै केन्द्रीय सदस्य भने प्रचण्ड-नेपाल नेतृत्वको नेकपामा लागेका छन्। २०७० सालमा तत्कालीन एकीकृत माओवादी विभाजनामा मोहन वैद्यसँगै गएका बादल २०७२ सालमा प्रचण्डसँग एकता गरेका थिए। बादल समूहसँगको एकतापछि एकीकृत नेकपा माओवादी नेकपा माओवादी केन्द्र बनेको थियो। एमाले र माओवादी केन्द्र एकता भई बनेको नेकपामा  बादलको पूर्वसमूहका ३ दर्जन बढी केन्द्रीय कमिटीमा थिए। प्रतिनिधि सभामा उनको पूर्वसमूहमा रहेका ६ जना सांसद छन्।

बादलनिकट सबैजसो केन्द्रीय सदस्य प्रचण्ड-नेपालसँगै रहेको केन्द्रीय सदस्य सुरेश आलेले बताए। ‘हामी सबैजसो प्रचण्ड-नेपालसँगै छौं। बादल कमरेड उता जानुभएको भन्ने सुनेको छु,’ उनले भने,’उहाँले पनि प्रतिगमनको विरोध गर्नुहुन्छ भन्ने मेरो अपेक्षा छ। उहाँ हामी जता रहे पनि मेरो उहाँप्रति सम्मान कायमै छ।’ नेकपा विभाजन भएसँगै प्रचण्ड-नेपाल नेतृत्वको नेकपामा दुई तिहाइ केन्द्रीय सदस्य छन् भने ओली नेतृत्वको नेकपामा एक तिहाइ पनि केन्द्रीय सदस्य छैनन्। स्रोतका  अनुसार गृहमन्त्री बादलका राजनीतिक सल्लाहकार सूर्य सुवेदी ‘पथिक’ पनि प्रचण्ड-नेपाल समूहमा आइसकेका छन्।

‘बादल हाम्रो नेता हुनुहुन्थ्यो। नेताले सबैलाई मिलाउन सक्नु पर्ने हो, उहाँले सबैलाई समेट्न सक्नुभएन,’ बादलको समूहमा रहेका एक केन्द्रीय सदस्यले भने,‘उहाँले अहिलेको गृहमन्त्रीलाई ठूलो देख्नुभयो। त्यही भएर एक्लै बालुवाटार जानुभएको छ। सिपाहीबिनाको जर्नेलको के अर्थ रहन्छ र!’

About ग्लोबल खबर

View all posts by ग्लोबल खबर →

Leave a Reply

Your email address will not be published. Required fields are marked *